तराईका अधिकांश क्षेत्र डुवानको चपेटामा

धनुषा/रुपन्देही–साउन ७ । विहीबार यता २४ घण्टामा जनकपुरमा तीनवर्ष यताकै सबैभन्दा बढी वर्षा भएको छ । जसले गर्दा नगर क्षेत्रभित्रका प्रमुख सडक, गल्ली, चोक तथा कार्यालय र विमानस्थल डुबानमा परेका छन् ।

dubhanयस्तै, लगातारको वर्षाका कारण तराईका विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबान र कटानका कारण हजारौं मानिस विस्थापित भएका छन् । नवलपरासीको झरही र रामखण्डा खोलामा आएको बाढीले सदरमुकाम परासी डुबानमा परेको छ । बाढीमा फसेका २५ भन्दाबढीलाई सेनाले हाटबजारबाट उद्धार गरेको छ । सदरमुकाम जाने सुनवल परासी खण्डको टंकप्रसाद मार्ग र भुमही परासी जोड्ने पक्की सडक कटान र डुबानमा परेको छ । बिहीबारदेखि परेको पानीले डुबान भएपछि आज बिहानैबाट सुरक्षाकर्मीलाई राहत तथा उद्धारमा खटाइएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । त्यस्तै, अबिरल वर्षाका कारण आएको बाढीले रूपन्देही जलमग्न बनेको छ । सयौं बिगाह धान खेत डुबानमा परेको छ । रोहिणी नदीको पानी गाउँमा पस्दा पड्खौली गाविस वडा नम्बर ५ का १६ घर डुबानमा परेका छन् भने नदीले धार परिवर्तन गरेपछि बसन्तपुरका ६ घर डुबानमा परेका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा खण्डको दोभान, झुम्सा र सिद्धबाबामा ढुंगा खस्दा बाटो अवरुद्ध भएको छ । त्यस्तै, तिनाउ नदीमा आएको बाढीले दर्जनौं घर डुबाएको प्रहरीले जनाएको छ । यता, लगातारको वर्षापछि विभिन्न नदीमा आएको बाढीले पूर्वका जिल्ला पनि जलमग्न भएका छन् । मोरङको अमरदहमा बक्राहा नदीको बाढीले २४ घर डुबाएको छ । सप्तकोशी नदीमा पानीको बहाब बढेपछि आज बिहान २२ वटा ढोका खुला गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सप्तकोशीमा पानीको बहाव यसवर्षकै उच्च १ लाख ६७ हजार ७ सय ३० क्युसेक फिट पुगेको छ । स्थानीय प्रशासनले कोशी दक्षिणका सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ भने उदयपुरको त्रियुगा नदीमा आएको बाढीले नगरपालिका क्षेत्रका दर्जनौं घर डुबेका छन् ।

तपाईको प्रतिक्रिया