कर्णेल लामाले बयान दिन गरे इन्कार

एजेन्सी – साउन ६ । तत्कालिन माओवादी सशस्त्र द्वन्द्वकालमा सरकारी पक्षबाट यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपिरहनुभएका कर्णेल कुमार लामाले बयान दिन इन्कार गर्नुभएको छ ।
kumar-lamaलन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टमा सुनुवाई जारी रहेको मुद्दा उपर नेपाली सेनाका महासेनानी लामाले नीजि वकिल मार्फत बयान दिन इन्कार गरेको बताइएको छ । सुनुवाइको अध्यक्षता गरिरहेका न्यायाधीश जस्टीस स्वीनीले बयान दिने वा नदिने भनि लामालाई सोध्ने क्रममा लामाले बयान इन्कार गरेको श्रोतको दाबी छ ।
जारी सुनुवाइमा अभियोजन पक्षबाट विज्ञ तथा साक्षीहरुले अदालत समक्ष बयान दिइसकेका छन् । गत वर्ष भने अभियोजन पक्षले दोभासे नपाएपछि मुद्दा स्थगित भएको थियो । कर्णेल लामा विरुद्ध सन् २००५ मा कपिलवस्तुको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुई सर्वसाधारणलाई चरम यातना दिएको अभियोग लगाइएको छ ।

दक्षिण सुडानस्थित राष्ट्रसंघीय मिसनमा कार्यरत रहेकै बेला छुट्टीमा परिवार भेट्न बेलायत आउँदा गत जनवरी २०१३ मा बेलायती प्रहरीबाट कर्णेल लामा पक्राउ पर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया