नेपाली क्रिकेटको लगातार चौथो सफलता

काठमाडौं–साउन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ ।

Nepali Cricketगएराति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराउँदै लगातार चौथो जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा एक सय १९ रन मात्रै बनाउन सक्यो । इस्टबर्नलाई कम रनमै सीमित बनाउन नेपालका सोमपाल कामीले तीन बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपाली टोलीले मात्र तीन विकेट गुमाएर इस्टबर्नसामु तीन सय एक रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका विनोद भन्डारी र राजु रिजाल नट आउट रहे । विनोदले ६७ बल खेल्दै ७७ रन बनाए भने राजु रिजालले ६० बल खेल्दै ६० रन बनाए । यस्तै, ओपनर अनिल मण्डलले १ सय १० बलको सामना गर्दै ७३ रनको योगदान दिए । अर्का ओपनर सुवास खकुरेल १२ बल खेलेर ६ रन बनाउँदै बाहिरिए । खकुरेल आउट भएपछि मैदानमा आएका सरद भेषवाकरले ६७ बल खेल्दै ६० रनको योगदान दिए ।

नेपाली टोलीले गएको शनिबार राति भएको खेलमा कन्फ्रेन्स क्रिकेट क्लबलाई चार विकेटले हराएको थियो । यस्तै बिहीबार भएको ट्वान्टी–ट्वान्टी खेलमा इन्डियन जिमखानालाई २० रनले हराएको थियो भने बुधबार भएको ४० ओभरको खेलमा फ्रि फोरेस्टरलाई एक सय २९ रनले पराजित गरेको थियो ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीमा रहेको नेपालले मंगलबार विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया