काठमाडौ– साउन १ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सभामुख ओनसरी घर्तीले सरकार विघटन र गठन प्रक्रियामा सहभागी भएर गम्भीर गल्ती गरेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपालले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा सचिव ज्ञवालीले तटस्थ रहनुपर्ने सभामुखकै सरकारी निवासमा सरकार परिवर्तनको खेल भएको आरोप लगाउनुभएको हो । संसद्मा विचाराधीन विधेयक हटाएर एकलौटी रुपमा अविश्वासको प्रस्तावलाई महत्त्व दिएकाले सभामुखको निस्पक्षतामा प्रश्न उठेको एमाले सचिव ज्ञवालीको भनाइ थियो ।
उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक अवसरवाद र स्वार्थकेन्द्रित राजनीतिमा लागेको आरोप लगाउँदै कानुनी अस्पष्टताका कारण संक्रमणकालीन सरकार विघटन र गठन हुने अवस्था नरहेको जिकिर गर्नुभएको थियो ।