साउने सक्रान्ति–हिन्दु धर्मावलम्बीको आस्थाको पर्व

काठमाडौं–साउन १ । साउन महिनाको पहिलो दिन । हिन्दु धर्मावलम्बीहरुले साउने सक्रान्ति धार्मिक बिधीपूर्वक मनाएका छन् ।

saune-sakrantiहिन्दु धर्मावलम्बीहरुले मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा यो पर्व मनाउछन । साउने संक्रान्तिका दिन असारे बर्षात र हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । पुलफुल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने धार्मिक विश्वास छ । ज्योतिष शास्त्र अनुसार सौर्य तिथिका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि अर्थात साउने संक्रान्ति र मकर राशि अर्थात माघे संक्रान्तिमा प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आजको दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्ध तर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । साउन महिनाले हिन्दू धर्मावलम्बीहरुको चाडहरू भित्र्याउने भनाइ पनि छ । स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरुवात आजैका दिनदेखि गर्ने परम्परा रहेको छ ।

सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने धार्मिक विश्वासका आधारमा साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन पनि छ । विवाहीत हिन्दु महिलाहरु सौभाग्यको प्रतीक हरियो चुरा र बस्त्र पहिरिएर साउन महिनाको प्रत्येक सोमबार व्रत बसि शिवको पूजा आराधना गर्ने गर्छन ।

तपाईको प्रतिक्रिया