तनहुँ–असार ३१ । कल्लेरी फाँट सिंचाई उप आयोजना निर्माण भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका तनहुँको भानु नगरपालिका चाम्बासका कृषकहरु उत्साहित भएका छन् ।
करिब २६ हेक्टर क्षेत्रफलको खेतमा सिंचाई सुविधा पुर्याँउन कल्लेरी फाँट सिंचाई उप आयोजनाबाट सिंचाई पुगेपछि कृषकहरु उत्साहित भएका हुन् । भानु नगरपालिका–८ को कल्लेरी फाँटमा सिंचाई सुविधा नहुँदा ३७ घर परिवार आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए । कल्लेरी फाँटमा सिंचाई सुविधा उपलब्ध गराउन पश्चिमाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालय सिंचाई विकास डिभिजन तनहुँले मझौला सिंचाई आयोजना अन्तरगत कल्लेरी फाँट सिंचाई उप आयोजना निर्माण सम्पन्न गरेको बताइएको छ ।
तनहुँमा करिब ५१ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिने भएपनि ६ हजार ३ सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध छ भने १३ हजार ५ सय ८० हेक्टर सिंचित क्षेत्र र ७ हजार २ सय ३३ हेक्टर आकाशे पानीको भरमा खेती गर्नुपर्ने क्षेत्र रहेको छ ।