काठमाडौं–असार । सरकारले काठमाडौंका तरकारी तथा मासु पसलहरूको अनुगमन सुरु गरेको छ ।
अनुगमनका क्रममा थुप्रै वस्तु तथा सेवा गुणस्तरहीन भेटिएका छन् । वर्षमा दुई–चार पटक मात्र मौसमी अनुगमन गर्दै आएको सरकारले अझसम्म बजार व्यवस्थित गर्न सकेको छैन । यसले बजारमा सरकारको निगरानी कम भएको प्रष्ट हुन्छ ।
हुनत, अहिलेका मन्त्री मात्रै होइन, विगतका मन्त्रीले पनि बजार अनुगमनलाई निरन्तरता दिने दाबी गरेका थिए । तर व्यवहार यस्तो देखिएन् । बरु बजार अनुगमनको जिम्मा पाएका एकदर्जन बढी सरकारी निकाय उपभोक्ताको समस्या भन्दा व्यापारीको पक्षधरतामा लागेको गुनासो बढ्यो । अहिले बजार सरकारको नियन्त्रण बाहिर गइसकेकाले बेला बेला गरिने अनुगमनले कुनै प्रभाव नपार्ने बुझाई उपभोक्तामा देखापरेको छ ।
सरकारी वेवास्थाकै कारण बेला बखतमा हुनेगरेका अनुगमनले प्रभाव पार्न सकेका छैनन । बजारमा अधिकांश खाद्यबस्तुको गुणस्तरबारे प्रश्न उठिरहेको छ । गुणस्तर छैन भन्ने जान्दा जान्दै पनि उपभोक्ताले तरकारी, फलफूल, दुध, मासु, अन्न देखि पानीसम्म खरिद गर्नुपर्ने बाध्यता छ । बजारमा ब्यापारीहरुले गुणस्तरलाई वेवास्था गर्दै मनोमानी ढंगले खाद्यबस्तुको ब्यापार गरिहेको बारे सरकारी संयन्त्र स्वयम पनि बेखबर छैनन । तर अहिलेसम्मको व्यवहारले चर्चा कमाउनका लागि मात्रै सरकारी निकायले बजार अनुगम गर्ने गरेको देखिएको छ । आम उपभोक्ता अहिले अनुगमन प्रति यस्तै गुनासो गरिरहेका छन् ।
सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गरी कसुरदारलाई कानुनी दायरामा ल्याउन सकेको छैन भने अर्कोतिर दशकौं अघि बनेका कानुन समयसापेक्ष बनाउन नसक्दा दोषीहरु उम्किदै आएका छन् । जसको प्रत्यक्ष मार खेप्न बाध्य छन् आम उपभोक्ता । बजारको यो व्यतिथि कहिलेबाट हट्ला ?