पोखरा,असार २० । कास्कीको लेखनाथ नगरपालिका तल्लोगगनगौडास्थित लामेआहालमा क्षेत्रीयस्तरको सुविधा सम्पन्न बसपार्क बन्ने भएको छ । पोखरामा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै लेखनाथमा सुविधासम्पन्न बसपार्क बनाउन लागिएको हो । आगामी ५० वर्ष सम्मको सवारी चापलाई धान्नेगरी लेखनाथमा बसपार्क निर्माण गर्न लागिएको हो । करीव ४०० सय भन्दा वढी सवारी साधन अटाउने यो बसपार्कको क्षेत्रीय वस टर्मिनल निर्माण प्रकृया सुरु भैसकेको पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले बताउनुभयो ।
लेखनाथमा बसपार्क बन्ने पक्का भएपछि केही भुमाफिया सल्बलाउन थालेका छन् । भुमाफियाले जथाभावि बसपार्क आसपासमा जग्गा कटिङ गर्न थालेपछि स्थानीयबासीन्दाले त्यसको विरोध गर्दै बसपार्क निर्माण सहयोग समिति नै गठन गर्नुपरेको छ ।
लेखनाथ नगरपालिकाले २०५६ सालको परीषद् बैठकमै यो क्षेत्रको करीव २ सय ७३ रोपनी जग्गा बसपार्क वनाउने प्रस्ताव पारीत भएकाले कसैले बसपार्क बन्न नदिने चलखेल गरे त्यो असफल हुने लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बताउनुभएको छ । नगरपालिकालाई वसपार्क निर्माणको काम तीव्र बनाउन स्थानीय अगुवाहरुले भने तिब्र दवाव दिइरहेका छन् ।
नागरीक समाज लेखनाथका अध्यक्ष प्रकाश चन्द्र (पागल) ले वसपार्क बन्न नदिने षड्यन्त्रका बिरुद्ध स्थानीय एक भएर लड्ने उद्घोष गर्नुभयो । यता, मालपोत कार्यलय कास्कीले निर्माणाधिन बसपार्क आसपाससमा जग्गा प्लटिङ भएकोबारे लिखित जानकारी नआएको बताएको छ । मालपोत कार्यालय कास्कीका प्रमुख विश्वनाथ शर्माले गत असार १२ गते वसपार्क क्षेत्रको कित्ता नम्बर १५६ को ७ रोपनी ९ आना जग्गा रोक्का गर्न लेखनाथ नगरपालिकावाट पत्र आएको र उक्त जग्गा रोक्का गरीएको बताउनुभयो ।
२०३२ सालको सर्वे नापी अनुसार यस क्षेत्रमा २७३ रोपनी जग्गामध्ये ३२ दशमलव ६५ प्रतिशत सार्वजनीक र ६७ दशमलव ३५ प्रतिशत निजि दर्तावाल जग्गा रहेको छ । लेखनाथमा वसपार्क बन्ने भएपछि व्यक्तिगत जग्गाधनिले समेत मुल्याङ्गनअनुसार जग्गा दिन सहमति जनाउदै आएका छन् । तर, केही भु–माफियाले भने अवसरको फाइदा लिदै बसपार्कका लागि छुट्याइएको जग्गा मिचेर प्लटिङ गर्न व्यस्त छन् ।