काठमाडौं, असार । रोग निको पार्नका लागि खुलेका औषधी पसल । स्वास्थ्य जस्तो संवेदनशील विषयमा माथि नै खेलवाड । गल्ली गल्लीमा नक्कली औषधी पसल । स्वस्थ निरोगी बन्न बिरामीले औषधी किन्ने पसल नै नक्कली । तपाईलाई बिस्वास नलाग्न सक्छ तर यो यथार्थ हो । औषधी ब्यवस्था विभागले जिल्ला प्रशासन कार्यालयहरुको समन्वयमा यो बर्षको १० महिना अवधीमा २६ जिल्लाका ६७ ओटा यस्ता अबैध रुपमा संचालन भएका औषधी पसल बन्द गराएको छ ।
यस्तै अर्कैको नाममा औषधी पसल सञ्चालनको अनुमति लिएर खुलेका १२ ओटा औषधी पसललाई ६ महिनासम्मका लागि निलम्बन गरेको छ । औषधी ब्यवस्था विभागका अनुसार हालसम्म नेपालमा १९ हजारको हाराहारीमा औषधी पसलहरु दर्ता छन् । तर बिना दर्ता नै सञ्चालन भएका औषधी पसल पनि ठूलै मात्रामा रहेको विभागको अनुमान छ । दर्ता भएर सञ्चालन भएका औषधी पसलहरुमा पनि गुणस्तरहीन औषधीको बिगबिगी हुने गरेको छ । विभागले गएको साउनदेखि बैशाखसम्म काठमाडौ उपत्यकाका औषधी पसलका ३ सय ४७ औषधीको नमुनाका रुपमा गुणस्तर परिक्षण गर्दा ५७ ओटा गुणस्तरहीन भेट्टाएको हो । औषधी ऐन २०३५ को परिच्छेद ४ को बर्खिलाप काम गरेमा तथा दफा ३४ बमोजिम १ बर्ष कैद तथा ५ हजार जरिवाना वा दुबै सजाय हुने ब्यस्वस्था छ । यस्तै विभागले बनाएको २०७३ को कार्यबिधी अनुसार औषधी पसल सञ्चालनका लागि फार्मासिष्ट वा फार्मासिष्ट सहायकले मात्र अनुमति प्राप्त गर्न सक्ने ब्यवस्था छ ।
औषधी व्यस्था विभागको तथ्याङ्क अनुसार, अहिले नेपालमा ३० हजार भन्दा बढी औषधी पसल छन् । तर, मेडिकल काउन्सिलमा दर्ता भएका र अन्य गरी औषधी पसल खोल्न पाउने जनशक्ति करिव १४ हजार मात्रै छ ।
यसलाइ हेर्दा १६ हजार भन्दा बढी औषधी पसलमा योग्य जनशक्ति बस्दैनन् । अैषधी व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल भने जनशक्तिको अभावको कारण देखाउदै सबै ठाँउमा अनुगमन गर्न सम्भव नहुने लाचार जवाफ दिन्छन् । जनशक्ति कमि भयो रे । महानिर्देशक ज्यूको यो कस्तो सजिलो उत्तर । यो उत्तरबाट नै प्रष्ट हुन्छ कि नियमनकारी निकाय जनस्वास्थ्य माथि कतिको जिम्मेवार छन् भनेर । भनिरहनु पर्दैन औषधी जाने अमृत नजाने विष हो । यदि एउटा रोग लागेको बेला अर्को औषधी खायो भने त्यसको असर नराम्रो हुन्छ । औषधी पसलमा अदक्ष ब्यक्ति रहनु स्वास्थ्यका लागि थप जोखिम निम्त्याउनु भन्ने कुरा सवैलाई थाहा छ ।
तर यति हँुदा हुँदैपनि नियमनकारी निकाय झारा टार्ने काम मात्र गरेर बसेका छन् । औषधी ब्यवस्था विभागको यही कमजोरीकै कारण अबैधानिक औषधी बिक्रेताले संरक्षण पाएको नेपाल फार्मेसी परिषदको दाबी छ । यति सम्मकी एउटाको औषधी वेच्ने लाइसेन्स बाट धेरै औषधी पसल खुलेका छन यहाँ । अनि, ती औषधी पसलमा लाइसेन्स वाला व्यक्ति बस्दैन । अरु व्यक्तिहरुले मनलागी औषधी बेचीरहेका छन् । अनि औषधीको कारोबारमा औषधी पसलहरुमा अदक्ष ब्यक्ति रहेको थाहा हुदा हुदै पनि औषधी ब्यवस्था विभाग भने सवै दृश्य टुलुटुलु हेरेर बसेको छ ।