काठमाडौं, असार १४ । विगतको तुलनामा हाल उच्च शिक्षा अध्ययन गर्ने महिलाको संख्या बढ्दो छ । त्रिभुवन विश्वविद्यालयको तथ्यांक अनुसार त्रिभुवन विशवविद्यालमा अध्यनरत कूल विद्यार्थीको ८५ प्रतिशत विद्यार्थी अप्राविधिक र १५ प्रतिशत विद्यार्थी प्राविधिक शिक्षामा अध्यनरत छन् । सन २०१४ मा अप्राविधिक तर्फ कूल विद्यार्थीको ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला रहेकोमा हाल यो तथ्यांक पुरुष ५४ प्रतिशतमा झर्दा महिला ४६ प्रतिशतमा बढेको छ ।
यो तथ्यांकले २ वर्षको अन्तरालमा नै उच्च शिक्षा अध्ययन गर्ने महिलाको संख्या ३ प्रतिशतले वढेको देखाउँछ । अप्राविधि शिक्षामा जस्तै प्राविधिक शिक्षामा अध्ययन गर्ने महिलाको संख्या पनि तुलनात्मक रुपमा वृद्धि भएको छ । विगतमा प्राविधिक शिक्षा अध्ययन गर्ने महिलाको संख्या शून्य जस्तै हुने गरेको भए पनि हाल यो संख्या २९ प्रतिशतसम्म पुगेको छ ।
विगतमा महिलाहरु चुल्हो चौकोमा मात्र सिमित गरिने पुरातनबादी सोचका कारण उच्च शिक्षा अध्ययनमा बञ्चित गरिए पनि अहिले समाज परिवर्तन भएको छ । महिलाहरु आफ्नो हक अधिकारका लागि आवाज उठाउन थालेका छन् । संविधानमा समेत उनीहरुको अधिकार सुनिश्चित गरिएको छ । उनीहरु हरेक क्षेत्रमा अब्बल सावित हुँदै गएका छन् । समाज परिवर्तन, महिला हक अधिकारका कुरा जति नै गरिए पनि अझै व्यवहारमा लागू हुन नसकेको उनीहरुको गुनासो छ । अध्ययनका क्षेत्रमा समेत महिलाले मात्र अध्ययन गर्ने विषय भनेर किटान गरिने परिपाटीको अन्त्य हुन सकेको छैन । पछिल्लो समय प्राविधिक तथा अप्राविधिक शिक्षा अध्ययनमा महिलाको उपस्थिति उत्साहप्रद हुनु सकारात्मक हो । आरक्षण र अवसर जति नै प्रदान गरिए पनि उनीहरुमाथि हुने विभेद अन्त्य हुनु जरुरी छ ।