काठमाडौं, असार १३ । चार सय वर्षअघि राजा प्रताप मल्लले सन्तान मृत्युका कारण रानी शोकमा परेपछि रानीपोखरी निर्माण गरेका थिए । यही रानीपोखरी बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएपछि केही समय अघिबाट पुनर्निर्माण थालिएको छ । चार सय वर्षसम्म पानी नसुकेको रानीपोखरी अहिले भने पानीविहीन भएको छ ।
पुनर्निर्माणका लागि रानीपोखरीको पानी निकालेर ढलमा मिसाइएपछि रानीपोखरी सुकेको हो । यमलेश्वर मन्दिरसमेत रहेको रानीपोखरीमा भूकम्पले क्षति पुर्याएपछि माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरी पुनर्निर्माण शुभारम्भ गर्नुभएको थियो । पानी निकाल्ने क्रममा रानीपोखरीका माछालाई काठमाडौंं वरपरका विभिन्न तालमा छोडिएको छ । पुनर्निर्माण पछि सबै माछा पुन: रानीपोखरीमै ल्याइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
पुनर्निर्माणपछि रानीपोखरी परिसरमा आकर्षक पार्क बनाई रमणीय क्षेत्र बनाउनुका साथै पर्यटकीय स्थलका रूपमा विस्तार गर्ने महानगरपालिकाको लक्ष्य छ । निर्माण भएको झण्डै चार सय वर्षपछि अब रानीपोखरीले नयाँ रुप धारण गर्दैछ । काठमाडौं महानगरपालिकाले पोखरीका पुरातात्विक महत्वका वस्तुलाई संरक्षण गर्दै ‘रिफ्रेसिङ सेन्टर’ बनाउने योजनामा काम सुरु गरेको छ । भाइटीका र छठ पर्वमा गरी वर्षमा दुई पटक मात्र खुला गरिने रानीपोखरीलाई पुनर्निर्माणपछि सधैं खुला गरिने पनि महानगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा पोखरीको बीचमा रहेको यमलेश्वर मन्दिरको पुनर्निर्माण गरिनेछ । १८ महिनाभित्र पुनर्निर्माण पूरा हुने गर्ने लक्ष्य लिइएको छ । ६ करोड २९ लाखको लागतमा पुन:निर्माण हुनलागेको रानीपोखरी परिसरमा सुविधा सम्पन्न शौचालयसमेत निर्माण गरिनेछ ।