एजेन्सी, ११ असार । युरो कप फुटबल प्रतियोगिताको समूहचरणको खेल सहिएपछि आजबाट प्री–क्वार्टरफाइनलका खेलहरू सुरु भएका छन् । जसअन्र्तगत आज राति तीन खेल हुँदैछन् ।
पहिलो खेलमा स्वीजरल्याण्डले पोल्याण्डको सामना फ्रान्सको स्टेड जियोफ्रोयमा गर्दैछ । नेपाली समयअनुसार बेलुकी ६ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । स्वीजरल्याण्ड एक खेलमा जित र दुई खेलमा बराबरीका साथ समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । यस्तै पोल्याण्ड दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै समूह सी को उपविजेता बनेको थियो ।
पेरिसमा आज राति ९ बजेर ४५ मिनेटमा वेल्स्ले उत्तरी आयरल्याण्डको सामना गर्दैछ । समूह बी को विजेता बनेको वेल्स्ले समूह चरणमा स्लोभाकिया र रुसलाई पराजित गरेको थियो भने इंग्ल्याण्डसँग पराजय व्यहोरेको थियो । उत्तरी आयरल्याण्ड समूह सी बाट उत्कृष्ट चार भित्र पर्दै प्री–क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
आजको अन्तिम खेल राति १२ बजेर ४५ मिनेटमा पोर्चुगल र क्रोएसियाबीच हुनेछ । समूह डी को विजेता बनेको क्रोएसियाले समूह चरणमा टर्की र स्पेनलाई पराजित गरेको थियो भने चेक रिपब्लिकसंग दुई–दुई गोलको बराबरी खेलेको थियो । पोर्चुगल तीवटै खेल बराबरी खेल्दै समूह एफबाट उत्कृष्ट चारभित्र परेको थियो । प्री–क्वाटरफाइनलमा १६ वटा राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।