युरो कप अपडेट– जर्मन समूह विजेता, स्पेनलाई धक्का

काठमाडौं–असार ८ । युरो कप २०१६ को समूह चरणमा डिफेण्डिङ च्याम्पियन स्पेन क्रोएशियासंग पराजित भएको छ । बुधबार रातिको खेलमा क्रोएशियाले स्पेनलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

euro cupसमूह डीको बिजेता बनेको क्रोएशियाको ९ अंक बनेको छ भने स्पेनको ६ अंक छ । खेलमा स्पेनले सातौं मिनेटमा नै मोराटाको गोलबाट अग्रता लिए पनि पहिलो हाफको अन्तिममा क्रोएसियाका कलिनिकले बराबरीमा गोल गरे । खेलको ७२ औं मिनेटमा स्पेनले पेनाल्टी पाएपनि सर्जिओ रामोस गोल गर्न सकेनन । उनको प्रहार विपक्षी किपरले असफल पारेका थिए । ८७ औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाएका थिए ।

यस्तै, समूह डी को अर्को खेलमा टर्की चेक रिपब्लिकलाई २–० गोलअन्तरले हराउँदै विजयी बन्यो । बुराइ इलमले १०औं मिनेटमा र ओजन तुफानले ६५ औं मिनेटमा  गोल गर्दै टर्कीलाई जित दिलाए । यस्तै, गएराति नै समूह सी अन्तर्गतको खेलमा युक्रेनलाई हराउंदैं पोल्याण्ड पहिलोपटक युरोकप फुटबलको नकआउट चरणमा पुगेको छ । ५४ औं मिनेतमा ज्याकोब ब्लासचेकोवस्कीले गरेको गोल नै यो जितका लागि निर्णायक बन्यो । समूहका तीनै खेल गुमाएको युक्रेन एक अंक पनि नजोडी युरोकप यात्राबाट बाहिरिएको छ ।

यस्तै, समूह सी अन्तरगत भएको अर्को खेलमा विश्व विजेता जर्मनी युरोकप फुटबल अन्तर्गत समूह सीको विजेता बनेको छ । जर्मनले समूहको अन्तिम खेलमा नवप्रवेशी नर्दन आयरल्याण्डलाई १–० ले पराजित गरेको हो । जर्मनका लागि २९ औं मिनेटमा मारिओ गोजमेले गरेको गोल नै निर्णायक बन्यो । जर्मनीसंग पराजित भएपनि नर्दन आयरल्याण्ड अन्तिम १६ मा पुगेको छ ।

तपाईको प्रतिक्रिया