काठमाडौं–असार ६ । संसदीय सुनुवाई विशेष समितिको सभापति छान्न आगामी बुधबार निर्वाचन हुने भएको छ ।
सभामुख ओनसरी घर्तीले बुधबार दिउँसो ३ बजे निर्वाचन गर्ने तय गर्दै कार्यतालिका सार्वजनिक गर्नुभएको हो । सभामुख घर्तीले आइतबार व्यवस्थापिका संसदबाट पारित संसद् नियमावलीको नियम १८० को प्रावधानबमोजिम समितिको सभापति निर्वाचनको मिति तोक्नुभएको बताइएको छ । दलहरुबीच कांग्रेस नेता कुलबहादुर गुरुङलाई समितिको सभापति बनाउने भद्र सहमति यसअघि नै भइसकेको बताइएको छ ।
यस्तै, समितिले यस अघिको कार्यविधि अध्ययन गरी आफ्नो कामकारवाही छिटो छरितो बनाउने बारे सुझाव दिन तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेका डा. गणेशमान गुरुङ र नेकपा माओवादी केन्द्रकी अनिता परियार सदस्य रहनुभएको छ । सोमबार बसेको समितिको पहिलो बैठकले कार्यदल गठन गर्दै समितिको सभापति निर्वाचनको मिति तोक्न सभामुखलाई अनुरोध गरेको थियो ।
नौ महिनापछि संसदको कार्यसञ्चालन नियमावलीअन्तर्गत गठित समितिमा १५ जना सदस्य रहेका छन् । जसमा कांग्रेसबाट ६ जना, एमालेबाट ४ जना, माओवादी केन्द्रबाट २ जना, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकबाट १–१ जना सदस्य छन् ।