काठमाडौं–असार ४ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ ।
आज र भोली दुई–दुई सिफ्टमा संचालन हुने परीक्षामा ६० हजार ६ सय २६ जना सहभागी हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ । सहभागि परिक्षार्थी मध्ये ५२ हजार २ सय २२ पुरुष र ८ हजार ४ सय ४ महिला रहेको बताइएको छ । परीक्षाका लागि काठमाडौं उपत्यकामा १८ र पोखरामा ३ गरी २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको, निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५ सय कर्मचारी परिचालन गरिएको इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले नेपाल परिक्रमालाई जानकारि दिनुभएको छ ।
दुई घण्टा १० मिनेटको परीक्षा पहिलो सिफ्ट विहान ९ बजेदेखि ११ बजेर १० मिनेट जादा सकिने छ भने दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि ३ बजेर १० मिनेटमा सम्पन्न भएको छ । परीक्षा दिन आउँदा एमआरपीको सक्कल प्रति र प्रवेश पत्र दुबै अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यसवर्ष कृषि तर्फ २ हजार १ सय र उत्पादनमूलक तर्फ १ हजार गरी तीन हजार १ सय जना उत्तीर्ण हुनेछन् । कृषि तर्फ ३७ हजार १ सय ७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४ सय ५१ जनाले आवेदन परेको छ । परीक्षाको नतिजा आगामी साउन ११ गते प्रकाशित हुनेछ ।
हालसम्म भाषा परीक्षा मार्फत ३८ हजार जना कोरिया गएकोमा ७ हजार जना अवधि पूरा गरी स्वदेश फक्रिएको बताइएको छ ।