काठमाडौं, असार । राजधानी काठमाडौं अर्थात सम्पूर्ण देशबासीको आशा र भरोसाको सहर । तर, यही सहर भित्र बस्नेको दैनिकी कुरा गरी साध्य छैन । प्रसङ्ग सुरु गरौं सहरको ऐना मानिने सडकको बास्तविकता बाट । घाम लाग्यो धुलोले टिक्न खान दिदैन । पानी पर्यो हिलोले हिडिसाध्य छैन । त्यसमाथि अस्तव्यस्त ट्राफिक, मनलागि पार्किङ, सडक मिच्ने होड के के हो के के । जताततै समस्याको चाङ मात्र देखिन्छ राजधानीको सडकमा । हुन पनि भनेको समयमा गन्तब्यम पुग्नु भनेको तपाईंका लागि ठुलै युद्ध जित्नु जस्तै हुन्छ । झन् कार्यालय समयमा हिड्नु भयो भने त कुरै नगरौं । एक त खराव सडक, धुलो र हिलोको साम्राज्य अर्कातिर ट्राफिक जाम । हो दिनानुदिन बढ्दो सवारी साधनको चाप र हिलाम्य सडकका कारण काठमाडौंको सवारी आवागमन लथालिङ्ग बनेको छ । त्यसमाथी पुराना सवारी साधनको उचित ब्यवस्थापन हुन नसक्दा सडकमा गतिलै भाँडभैलो देख्न पाइन्छ । खासगरि विहान र वेलुकाको समयमा सडक जामका कारण सर्वसाधारणले तनाव खेप्दै आएका छन् । निश्चित समयमा गन्तब्य भेट्न सर्वसाधारणहरुलाई हम्मे हम्मे पर्ने गरेको छ । काठमाडौंमा देखिएको यो अब्यवस्थाका कारण हतार भए हिंडेर जाउ, फुर्सद भए गाडी चढौँ भन्ने उखान स्थापित भएको छ । हुनपनि पैदल हिंड्दा २० मिनेटमै पुगिने गन्तब्य, मोटर चढ्दा त्यसको पनि दोब्बर समय लाग्छ । गन्तब्य भेट्न मोटर चढ्ने हो भने, जामका लागि पनि समय छुट्याउनु पर्ने नियती सर्वसाधारणको बाध्यता हो । यातायात ब्यवस्था विभागको तथ्याङ्क अनुसार अहिले बागमती अञ्चलमा मात्रै ८ लाख ६४ हजार २ सय ५७ सवारी साधन दर्ता भएका छन । यो तथ्याङ्क अनुसारको सवारी साधन काठमाडौको सडकले धान्नै सक्दैन ।
सडकको क्षमता भन्दा बढी गाडी सडकमा गुड्नु, भत्किएको सडक, ट्राफिक लाईट र आकाशेपुलको अभावमा सडक जाम वढेको यातायात व्यवस्था विभागको ठहर छ । त्यसो त २० वर्ष पुराना सवारी साधन हटाउने योजना ल्याएको पनि डेड वर्ष भन्दा बढी भैसकेको छ । तर, अझैसम्म पनि ढलेको सिन्को ठडिएको छैन । काठमाडौंका सडकमा बर्षातका बेला गाडी गुड्दा नदीमा पानी जहाज तैरिए जस्तो देखिन्छ । सडकमै पानी जहाज हिंडे जस्तो लाग्ने यो लथालिङ्गपूर्ण अवस्थाले पनि सडकमा हुने सवारी जामलाई झनै बल पुर्याईरहेको छ । सम्बन्धित निकायले ध्यान नदिंदा सडकको यो समस्या सिर्जना भएको हो । सडकमा देखिएको यसखाले बेथितिले कहिलेसम्म निरन्तरता पाउने ? सर्वसाधारणले कहिलेसम्म सास्ती खेप्नु पर्ने ? यि र यस्ता प्रश्नले उब्जाएका समस्या समाधानका लागि राज्य मुकदर्शक बनेरै बस्ने हो त ?