प्रधानमन्त्रीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अकस्मिक निरीक्षण, सुधार गर्न निर्देशन

KP-oli-PMकाठमाडौं–जेठ ३२ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्नुभएको छ ।
नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८ः४५ बजे प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’को गत हप्ताको कार्यक्रममा एकजना दर्शकले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय पक्षमा जिज्ञासा राखेपछि प्रधानमन्त्रीले आकस्मिक निरीक्षण गर्नुभएको हो । दिउँसो  २ बजे विमानस्थल निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्रीले विमानस्थलको प्रतिक्षालय लगायतका विभिन्न विभागहरुको निरीक्षण गर्नुभएको थियो ।

विमानस्थलको निरीक्षणपछि  प्रधानमन्त्रीले प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, अनअराइभल भिसाको शुल्क तिर्ने ठाउँमा भएको भीडलाई कम गर्न शुल्क तिर्ने मेसिन थप्न निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीले विमानस्थलमा काम गर्ने कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाँचमा कडाई गर्न सरोकारवाला पक्षलाई निर्देशन दिनुभएको बताइएको छ ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, पर्यटन राज्यमन्त्री बलबहादुर महत समेत विमानस्थल जानु भएको थियो ।

तपाईको प्रतिक्रिया