नयाँ शक्तिको घोषणा सभा आज, आर्थिक विकास पहिलो एजेण्डा

काठमाडौं–जेठ ३०। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी घोषणा आज काठमाडौंबाट हुँदैछ ।
naya shaktiकाठमाडौंको  दशरथ रंगशालामा अपरान्ह १२ बजे पछि विशेष कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गर्न लागिएको नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले नेपाल परिक्रमालाई जानकारी दिनुभएको हो ।  ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ हुन लागेको नयाँ पार्टीको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका राजदूतलाई निम्ता दिइएको छ ।
घोषणासभामा सहभागी हुन विभिन्न देशका पार्टी प्रतिनिधिहरुसमेत उपस्थित हुने बताइएको छ । पार्टी घोषणा सभामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संवैधानिक अंगका प्रमुख, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत देशभित्रका सवैजसो दल, सांसदलगायत पाँचसयजनालाई अतिथिका रुपमा अमन्त्रण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
कार्यक्रममा सहमागी हुन भारतबाट राष्ट्रवादी कांग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी, बहुजन समाजवादी पार्टीका सुधीन्द्र भदोरिया, आनन्दस्वरुप वर्मा लगायत काठमाडौं आइसक्न्भएको छ । घोषणा सभाअघि कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट र्‍याली निकालिने र सभामा एक लाख मानिस उतार्ने नयाँ शक्तिको दाबी रहेको छ ।
पार्टी घोषणापछि सोमबार र मंगलबार छलफल सत्रको कार्यक्रम तय भएको छ । छलफल सत्रमा नयाँ शक्तिका आधारतत्व शीर्षकमा राजनीतिक प्रतिवेदनसहित संगठनात्मक सिद्धान्त र विधान, विकास र संवृद्धिको मार्गचित्र गरी तीनवटा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । छलफल सत्रबाट तीन उपाध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय समित बनाइने नयाँ शक्ति नेपालले जनाएको छ ।

यसअघि पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालले हालसम्म १ लाख १४ हजार ५ सय ४६ जनालाई सदस्यता वितरण गरेको जानकारी दिएको थियो । यस्तै, अहिलेसम्म सदस्यतालगायतका शुल्कबाट १ करोड ७६ लाख ६५ हजार ३ सय आम्दानी देखाएको नयाँ शक्तिले पार्टी घोषणासभामा १ करोड ५ लाख खर्च हुने प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया