विश्वका शक्तिशाली महिलामा अमेरिकी पकड–राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा

powerful womenकाठमाडौं–जेठ ।  विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले हालै विश्वका प्रख्यात एवं शक्तिशाली एक सय जना महिलाको सूची प्रकाशन गरेको छ । यस पटक यो चर्चा नेपालमा पनि छाएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको नाम सूचीमा समेटिएकोले यस बारे नेपालमा पनि चर्चा हुन पुगेको हो । आ–आफ्ना क्षेत्र वा व्यवसायमा महिलाको शक्ति, प्रभाव र सफलताका आधारमा यस पत्रिकाले ती महिलाको छनौट गर्ने गर्दछ ।
फोब्र्सको मूल्याङ्कनमा जर्मनीकी चान्सलर एन्जेला मार्केल यस पटक पनि पहिलो स्थानमा रहन सफल  हुनुभएको छ । उहाँ फोब्र्सको मूल्याङ्कनमा लगातार तीन वर्षयता प्रथम स्थानमा रहँदै आउनुभएको छ । विगत ११ वर्षदेखि जर्मनी तथा युरोपका केही राष्ट्रलाई समेत प्रत्यक्ष वा परोक्ष रुपमा प्रभावकारी नेतृत्व दिन सफल महिला नेतृ एन्जेला मार्केलले यस वर्ष पनि गत वर्षहरुको आर्जित ख्याती कायमै राख्नुभएको यो तथ्यले देखाएको छ । मार्केल यस वर्षको पनि सबैभन्दा प्रभावशाली ‘सेलिब्रेटी भएको पत्रिकाले जनाएको छ ।
ओरालो लागेको युरोपेली अर्थतन्त्रलाई आश्चर्यजनक ढङ्गबाट माथि उकास्न सफल एन्जेला बहुसंख्यक युरोपेली नागरिकबीच अत्यन्तै लोकप्रिय हुनुहुन्छ ।
अमेरिकी पूर्वविदेशमन्त्री तथा हाल राष्ट्रपति पदको प्रवल उम्मेदवार हिलारी रोधम क्लिन्टनलाई फोब्र्सले दोस्रो स्थानमा राखेको छ । विश्वका शक्ति राष्ट्रहरुमध्ये पहिलो दर्जामा सदा सर्वदा कायम रहेको र विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्तराज्य अमेरिकामा यसै बर्षको अन्त्यतिर हुनलागेको राष्ट्रपतीय निर्वाचनमा हिलारीलाई प्रमुख दावेदारको रुपमा हेर्न थालिएकाले पनि उहाँको चर्चा चुलिएको छ ।
संयुक्त राज्य अमेरिकाको ४२ औँ राष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्न सक्ने महिलाको रुपमा पनि परिचित हुनुहुन्छ । यसै बर्षको नोभेम्बरमा अमेरिकाको ४५ औँ राष्ट्रपति पदको निर्वाचनमा सशक्त उम्मेदबारका रुपमा उहाँको नाम आएको छ ।
यस्तै, तेस्रो स्थानमा पर्न सफल संयुक्त राज्य अमेरिकाकै ज्यानेट येलेन रहनुभएको छ । अमेरिकी संघीय कोष (फेडरल रिजर्भ) की अध्यक्ष येलेनको अथक प्रयासले अमेरिकामा डलरको मुद्रास्फिति दर घटाउन र रोजगारी बढाउन ओबामा सरकारलाई भारी मात्रामा सहयोग पुगेको तथ्यलाई आधार मानेर यो निर्णय लिएको फेब्सको दाबी छ । फेडरल रिजर्भको अध्यक्ष पद सम्हालेको केही समयमै सन् २०१५ भित्रै अमेरिकाको आर्थिक ब्याजदर बढाउने भविष्यवाणी गरे अनुसार अमेरिकाको समग्र अर्थतन्त्र उकालो लागेको छ । अझ गतवर्षको डिसेम्बरदेखि सन् २००६ यताकै पहिलो पटक ब्याजदरमा नाटकीय बृद्धि भएको छ ।
यस्तै, कम्प्युटर तथा साइबर जगतमा संसारभर ख्याति आर्जन गर्न निरन्तर सफल अमेरिकी माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी धर्मपत्नी र सहचारी मिलिन्डा गेट्स फोब्र्सको मूल्याङ्कनमा यस बर्षको विश्वको प्रभावशाली महिलामध्ये चौथो स्थानमा पर्न सफल हुनुभएको छ । विश्वका कृषक र महिला उत्थान तथा लैंगिक विकासका लागि उनको विशेष योगदान रहँदै आएको छ । स्थापनाकालदेखि हालसम्म यस संस्थाले विश्वविकासका लागि ३३ अरब अमेरिकी डलर बराबरको रकम खर्च वा लगानी गरिसकेको छ । अमेरिकाकै मेरी बारा यस बर्षको मूल्यांकनमा पाँचौ स्थानमा पर्न सफल हुनुभएको छ । जनरल मोटर्स कम्पनीमा ३६ वर्षसम्म अबिच्छिन्न सेवा पु¥याएकी मेरीले गत २ बर्षदेखि सो कम्पनीको सर्बोच्च पद कार्यकारी प्रमुख (सिइओ)को जिम्मेबारी सम्हाल्दै आउनुभएको छ ।
फोब्र्सको यस बर्षको विश्वका शक्तिशाली महिलाहरुको सूचिमा फ्रान्सकी साठी बर्षीया अर्थशास्त्री क्रिस्टिना लागार्दे छैठौं स्थानमा उभिनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रमुखको पाँचबर्षे कार्यकालका लागि यस बर्षको शुरुवात सँगै लगातार दोश्रो पटक पनि निर्वाचित हुन सफल क्रिस्टिनाको प्रयासले समग्र विश्व अर्थतन्त्रीय अनुशासनभित्र बाँधिएको छ । पहिला आफ्नै बित्तीय मार्गचित्रबाट हिंडिरहेका बाँकी शक्तिराष्ट्रहरु रुस, चीन र बेलायतलाई पनि आइएमएफ ब्रान्डको बित्तिय अनुशासनको दायरा भित्र कसेर बाँध्न सफल क्रिस्टिनाको कदरस्वरुप उनलाई छैठौंस्थानमा राखिएको आँकलन गरिएको छ ।
फोब्र्स मूल्याङकनको सातौं स्थानमा लामो समय देखि साइबर जगतमा विश्वभर लोकप्रियता आर्जन गरिरहेको सामाजिक सन्जाल फेसबूक सम्बद्ध अमेरिकाकै शेरिल स्यान्डबर्ग पर्नुभएको छ । त्यसैगरी अर्की अमेरिकी महिला सुसन वोजसिकी आठौं स्थानमा पर्नुभएको छ । वोजसिकी विश्व लोकप्रियताको होडबाजीमा फेसबुकको पछिपछि दौडिरहेको अर्को सामाजिक सन्जाल युट्युब सम्बद्ध हुनुहुन्छ ।
त्यस्तै बार्षिक ५२ अरब अमेरिकी डलर बराबर रकमको बिक्रय राशी पुयाउन सफल, हेल्वेट प्याक्कार्डकी प्रमुख, अमेरिकाकै मेग व्हिटमान नवौं स्थानमा पर्नुभएको छ । युरोपेली बैंकिंग क्षेत्रको सबभन्दा बिशाल संस्था युरोजोनको कार्यकारी प्रमुखको जिम्मेबारी सम्हाल्दै आउनुभएकी स्पेनकी आना प्याट्रिसिया बोटिन दशौं स्थानमा रहनुभएको छ । यसअघि पनि विश्व बिख्यात महिलामा पर्न सफल महिलाहरु यस पटक पनि सुचीमा परेका छन् । जस्तै दक्षिणकोरियाका सफल राजनितिज्ञ तथा वर्तमान राष्ट्रपति पार्क गेउन हाई बाह्रौं स्थानमा,अमेरिकी प्रथम महिला मिसेल ओबामा यस पटकको फोब्र्सको मूल्याङ्कनमा तेह्रौँ स्थानमा रहनुभएको छ । ओबामा एसियाका विभिन्न स्थानमा पुगेर बालिका शिक्षाक्षेत्रमा विश्वमा महत्वपूर्ण कार्यमा संलग्न हुँदै आउनुभएको छ । महिलालाई शिक्षित बनाएर आर्थिकरुपमा सम्पन्न बनाउनु नै समाज उत्थानको एक मूल उद्देश्य हो भन्ने बिचारका साथ उहाँ कार्यरत हुनुहुन्छ ।
म्यानमारकी प्रजातान्त्रिक नेतृ तथा सफल राजनीतिज्ञ ७० बर्षीया आङ सान सुकी फोब्र्सको विश्व प्रख्यात महिलाको सुचीमा २६ औं स्थानमा रहनुभएको छ । म्यानमारमा प्रजातन्त्रको आगमन र विश्वसामु म्यानमारको नयाँ परिचय दिलाउन सफल महिलाको रुपमा परिचित सुकीको पार्टीले करिब साढे दुई दशकभन्दा बढी समयको अन्तरालमा सम्पन्न आम निर्वाचनमा बहुमत ल्याएपछि विश्वभर चर्चा बढेको हो ।
फोब्र्सको यस बर्षकोे मूल्याङ्कनमा पहिलो पटक नेपालले पनि स्थान पाएको छ । दक्षिण एसियाली राष्ट्र नेपालको पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा पर्न सफल भएकी छन् । पुरुषको तुलनामा सदैव महिला पछाडी परिरहेको मानिने यस देशमा राष्ट्रपति जस्तो गरिमामय पदमा एकजना सफल महिला पुगी विश्व विख्यात भएकी हुन् नेपालका राष्ट्रपति भण्डारी । कम्युनिष्ट नेतृ भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा सन् २०१५ को अक्टोबरमा निर्वाचित भएकी थिइन् ।
आर्थिक, सामाजिक एवम् राजनीतिक रुपमा समेत महिला पछि परिरहेको नेपालजस्तो तेस्रो विश्वको देशमा समेत एकजना महिला राष्ट्र्प्रमुख र पहिलो सर्बोच्च पदाधिकारीका रुपमा निर्वाचित हुनुलाई संसारका कतिपय देशका सञ्चारमाध्यमले अनुकरणीय उदाहरणका रुपमा लिई आफ्ना समाचारका प्रमुख विषय वस्तु बनाउँदै प्रस्तुत गरेका थिए ।

फोब्र्सद्वारा मूल्याङ्कन गरिएको यस बर्षको विश्वप्रख्यात महिलाको सूचीमा सबभन्दा बढी अमेरिकी महिलाहरु परेका छन् । त्यसैगरी जर्मनी, फ्रान्स, दक्षिण कोरिया, चिली, स्पेन, बङ्गलादेश, नेपाल, सिङ्गापुर, ताइवान, इटाली, न्युजिल्यान्ड, भारत, म्यानमार, संयुक्त अधिराज्य बेलायत र सो अन्तर्गतको स्कटल्यान्ड, क्रोएसिया, लाइबेरिया, मौरिसस, बुल्गेरियाका महिलाहरु परेका छन् ।
महिलाहरुको यस्तो सफलताले विश्वभरीका महिला गौरवान्वित भई उनीहरुको उत्प्रेरित समेत हुन पुगेको प्रतिक्रियाहरु विभिन्न पक्षका नागरिक र विज्ञहरुबाट आइरहेको छ । फोब्र्सले कुनै पूर्वाग्रह बिना विश्वका विकसित वा शक्तिशाली राष्ट्र वा अल्पविकसित वा बिकासोन्मुख वा अविकसित, स्वराष्ट्र होस् वा परराष्ट्र वा विश्वभरी, आफ्ना अथक प्रयासबाट योगदान पु¥याउन सफल सबै महिलाहरुलाई सद्भावनापूर्वक उच्च कदर गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया