सरकारको कामकारबाही प्रति प्रमुख प्रतिपक्षी कांग्रेसको गम्भिर आपत्ति

baluatarकाठमाडौं–जेठ २६ । नेपाली कांग्रेसले संबैधानिक कानुन निर्माण, भूकम्पपछिको पुनःनिर्माण, संबैधानिक नियुक्ति लगायतमा सरकार एकलौटी रुपमा अघि बढेको भन्दै आपत्ति जनाएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली सहितका एमाले नेतासँग भेटवार्ता गरि कांग्रेस सभापति सहितका नेताहरुले सरकारको कामकारबाही र भूकम्पपछिको पुनः निर्माणमा भइरहेको मनोमानी बारे चासो राखेका हुन् ।

बैठकमा संविधान कार्यान्वयनका लागि बनाइनुपर्ने ऐन नियम, पुनःनिर्माणमा भइरहेको ढिलाई, बजारमा देखिएको अभाव, महंगी तथा शान्ति सुरक्षा बारे आफूहरुले प्रधानमन्त्रीसँग चासो राखेको भन्दै दलीय सहमतिका आधारमा संक्रमणकालबाट देशलाई निकास दिनुपर्ने कांग्रेस नेता बिमलेन्द्र निधीले बताउनुभयो । बैठकमा नेपाली कांग्रेसका सभापति लगायतका नेताहरुले संविधान कार्यान्वय, पुननिर्माण लगायतका महत्वपूर्ण मुद्धामा दलहरुबीच सहमति हुनुपर्ने भन्दै पहिलेको ७५ सदस्यीय संसदिय सुनुवाई समितिलाई यथावत राखेर राजदुत, न्यायाधिस लगायतको नियुक्तिलाई पूर्णता दिनुपर्नेे धारणा राखेका थिए ।

यस्तै, कांग्रेसका नेताहरुले सुनुवाई समिति नभएको भन्दै राजनीतिक प्रतिशोधका आधारमा न्यायाधिसमा शिफरिस हुनुभएका राम सिटौलाको नाम फिर्ता लिएकोमा आपत्ति जनाउदै सरकारी कर्मचारीको सरुवा बढुवामा राजनीतिक प्रतिशोध नदेखाउन प्रधानमन्त्रीलाई सचेत गराएका थिए । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले दुई दलबीच सहमतिका आधारमा संविधानको कार्यान्वयन गर्ने, भूकम्पपछिको पुनःनिर्माणको काम पारदशी र द्रुत बनाउने, स–साना राजनीतिक प्रतिशोत भुलेर देशलाई निकास दिन अग्रसर हुनुपर्ने बताउँदै कांग्रेसको चासोमा सकारात्मक रहेको भन्दै राजनीतिक सहमतिका आधारमा देशलाई निकास दिन प्रयत्नसिल रहने बताउनुभएको थियो ।

एमाले सचिव प्रदीप ज्ञवालीले एमाले र कांग्रेसबीचको मनमुटावले राष्ट्रलाई हित नगर्ने भन्दै गल्ति कमिकमजोरी सुधार गर्दै सहमतिका साथ अघि बढ्नुपर्ने बारे प्रधानमन्त्री र एमाले सकारात्मक भएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया