भक्तपुर–जेठ २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार संविधान कार्यान्वयन छाडेर झुटको खेतीमा लागेको आरोप लगाउनुभएको छ ।
भक्तपुरमा शहीद राधेश्याम झोंछें स्मृति प्रतिष्ठानको चौथो वार्षिक स्मृति सभामा बोल्दै सभापति देउवाले ओली सरकार संविधान कार्यान्वयनको महत्वपूर्ण काम छाडेर पुरा नहुने बजेटमार्फत झुटको खेतीमा लागेको आरोप लगाउनुभएको हो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट आत्मघाती भएको दाबी गर्नुभएको थियो ।
कांग्रेस सभापति देउवाले ओली सरकार राजनीतिक क्षेत्रमा मात्र नभई आर्थिक, कुटनीतिक, प्रशासनिक र जनताको दैनिक उपभोग्य सामानको आपूर्ति व्यवस्थापनमा समेत असफल भएको आरोप लगाउनुभएको थियो ।