काठमाडौं–जेठ २५ । वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएपनि उहाँका गीत संगीत सधै अमर रहने छन् । राष्ट्रिय गानका संगीतकार समेत रहनुभएका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको छ ।
श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर ३ बजेसम्म राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो । पशुपति आर्यघाटमा आजै उहाँको पार्थीव सरिरको हिन्दू र वौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने बताइएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गुरुङलाई अस्पताल भर्ना गरिएको थियो । एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिजम्, उच्च रक्तचाप र मधुमेहबाट पीडित गुरुङको रचना तथा संगीत भने सधै अमर, अजर रहनेछन् ।
दार्जिलिङको लालढिकीमा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट गुरुङ वि.सं १९९४ सालमा जन्म भएको थियो । गुरुङको पुख्र्यौली घर गोरखा जिल्लाको रिसिङ रहेको बताइएको छ । संगीतकार गुरुङले पाँच सय भन्दा बढी गीतमा संगीत भरिसक्नु भएको छ । गायन तथा संगीतको सुरुवात वि.सं. २०१६ सालमा कलकत्ताबाट प्रारम्भ गर्नुभएका उहाँले कोलकातामा पहिलोपटक वि.सं. २०१८ मा ‘नौ लाख तारा उदाए’ बोलको गीत रेकर्ड गराउनु भएको थियो ।
गुरुङ ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक समेत बन्नुभयो । तीन छोरा र एक छोरीका पिता स्वर्गीय गुरुङ हामिमाझ नभएपनि उहाँले नेपाली संगीतमा दिएको योगदान सधै जिवन्त रहने छ ।