काठमाडौं–जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित वर्तमान सरकार अघि बढेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं राष्ट्रिय महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार अग्रसर रहेको बताउनुभएको हो । उहाँले सरकार पूर्वाधार विकास, रोजगारी सिर्जना, उद्योग स्थापना, युवा पलायन रोक्ने कुरालाई प्राथमिकतामा राखेर अघि बढेको जिकिर गर्दै स्वदेशमा रोजगारी सिर्जना गरेर छिट्टै विदेश गएका युवा फर्काउन सफल हुने बताउनुभएको थियो ।
मुलुकमा उद्यमशीलताको विकास र युवालाई व्यावसायीक बनाउने उद्देश्यले सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था मिलाएको भन्दै सरकार अनौपचारिक सीप विकासमा लाग्ने बताउनुभयो । उद्योग, कृषि, व्यापार, तथा सबैखाले सेवा क्षेत्रलाई आजको विज्ञान प्रविधि र उन्नत चेतनासँग जोडेर मुलुकलाई अग्रगामी दिशातर्फ लैजान सरकारले भुमिका खेल्ने विश्वास दिलाउनुभएको थियो । स्वदेशी उद्योग र उत्पादनलाई सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले औद्योगिक वातावरण निर्माण र औद्योगिक ऐन चाँडो ल्याउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।