काठमाडौं–जेठ २४ । अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेदरल्याण्डसँग हुने खेलको तयारी थाल्न नेपाली राष्ट्रिय टोलीलाई निर्देशन दिएको छ ।
नेपाली क्रिकेट आईसीसी आफैंले हेर्ने गरि निलम्बित क्यानकी कार्यकारी अधिकृत सीईओ भावना घिमिरेलाई स्थानीय स्तरमा समन्वय गर्न निर्देशन दिएको हो । आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले क्रिकेट संघको निर्वाचित समिति, तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपको नाममा पढाएको पत्रमा नेदरल्याण्डसँगको खेल आफ्नो मातहतमा सञ्चालन गर्ने भन्दै स्थानीय स्तरमा समन्वय गर्न सीईओ घिमिरेलाई भनएको छ ।
यस्तै, खेलाडी छनोटको जिम्मा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई दिएको आइसीसीको पत्रमा उल्लेख छ । भारतका पूर्व खेलाडी राजु बैंकटपतिलाई सल्लाहकारका रुपमा राख्ने जनाइएको छ । काठमाडौंमा यसअघि भएको नामिबियासँगको खेल पनि आईसीसीले यही प्रक्रियाबाट सञ्चालन गरेको थियो । नेदरल्याण्ड टुरका लागि चाहिने आवश्यक रकम समेत आईसीसी आफैले उपलब्ध गराउनेछ तर पत्रमा नेपाल क्रिकेट संघ क्यानको रोक्का रकमबाट भर्पाई हुनेगरि निकास हुनसक्ने तर्फ सचेत पनि गराएको छ ।
आईसीसीले सन् २०१४ देखि नेपाललाई दिँदै आएको ९ लाख डलर बढीको सहयोग समेत रोक्का गरेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेपालले साउन २९ र ३१ गते नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । साउन ४ गते नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग लर्डमा खेल्ने बताइएको छ ।