शिक्षाको आठौ संसोधन विधेयक संसदबाट पारित

Samsad-bhawan-1काठमाडौं–जेठ २२ । शिक्षा आठौ संसोधन विधेयक शनिबार व्यवस्थापिका संसदको सर्वसम्मतले पारित गरेको छ । नयाँ वानेश्वरमा बसेको संसद बैठकमा विधेयक निर्णयार्थ पेश भएको थियो । संसद बैठकले विधेयक सर्वसम्मत रुपले पारित गरेको हो । संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा आठौं संशोधन विधेयक २०७३ लाई पारित गरियोस भन्ने प्रस्ताव राख्नुभएको थियो । विधेयक संसद बैठकबाट पारित भएपछि अब राष्ट्रपतिबाट प्रमाणिकरणपछि कानुन कार्यान्वयनमा आउने छ । विधेयकमा लामो समयदेखिका अस्थायी शिक्षकहरुको व्यवस्थापन गर्ने प्रवधान रहेको छ । विधेयकमा अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक सहितको स्वेच्छिक अवकास र प्रतिस्पर्धा रोज्ने अवसर छ । विधेयकमा पाच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम दिने व्यवस्था गरिएको छ । त्यस्तै दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब बराबरको रकम एकमुष्ट दिने र पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकमसहित अवकाश दिइनेछ । विधेयक पारित भएसँगै अब अहिले कायम रहेको उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी माध्यमिक शिक्षा परीक्षा बोर्ड गठन गर्ने व्यवस्था गरिएको छ । त्यस्तै  नीजि विद्यालयहरु कम्पनी ऐन अन्तर्गत दर्ता गर्नुपर्ने व्यवस्था समेत परिमार्जन गरिएको छ ।

तपाईको प्रतिक्रिया