मोरङ–जेठ २२ । मोरङको मधुमल्लास्थित बक्राहा खोला आसपासका गाउँ बलियो तटबन्ध नहुँदा यस वर्ष पनि उच्च जोखिममा परेका छन् । बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले ठूलो जनधनको क्षति बेहोर्नु परिरहेको छ ।
मधुमल्ला–५ स्थित बेतेनीमा बक्राहा खोला बाँध फुटाएर शनिवार पनि गाउँ पसेको स्थानियले बताएका छन् ।
उच्च पहाडी भेगको वर्षाबाट बहाव बढेपछि गाउँ पसेको खोलाले सात घर डुबाएको छ । खोला बस्तीमा पस्दा धनबहादुर मगर, रवीन दर्जी, रणवीर दर्जी, यज्ञ दर्जी, प्रेम गोले, मानबहादुर गोले र नन्दी गोलेको घर डुबानमा परेको हो । खोला गाउँ पसेपछि त्रसित स्थानीयवासिन्दाबीच केही समय भागदौड नै मच्चिएको स्थानीयहरुले बताए । बाढीले पु¥याएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
खोला किनारमा अन्दाजी २०/२१ वर्षीय एक युवकको शवसमेत फेला परेको स्थानियले बताएका छन् । गत वर्ष समेत बाँध फुटाएर खोला गाउँ पस्दा एक बालकको मृत्यु भएको थियो भने मधुमल्ला वडा नं ४, ५, ६ र ८ का सयौँ घर डुबानमा पदाई लाखौको धनमाल नष्ट भएको थियो । यो वर्षको वर्षासँगै स्थानियमा फेरी उही त्रास देखिएको छ ।