काठमाडौं–जेठ २१ । नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदसीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाएर विश्वमा प्रचलनमा नभएको अभ्यास र नयाँ किर्तिमानी कायम गरेको छ । झण्डै ९ टुक्रामा विभाजित माओवादी एकता प्रक्रिया मार्फत एउटै केन्द्रमा आएपनि त्यसको उचित राजनीतिक व्यवस्थापन हुन नसक्दा केन्द्रीय महाधिवेशन आयोजक समिति झण्डै ११ सय सय सदस्यीय बन्न पुगेको छ । राजनीतिक विश्लेषक र जानकारहरूका अनुसार यो विश्वमै कहि नभएको र भद्दा राजनीतिक अभ्यास हो । विकसित र बढि जनसंख्या भएका देशमा समेत थोरै सदस्यीय, केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समिति हुनेभएपनि नेपालको माओवादीले सबै रेकर्ड तोड्दै जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको हो ।
पार्टी कार्यालय कोटेश्वरमा विहीबार बसेको माओवादी पोलिटब्यूरोको बैठकले महाधिवेशन आयोजक समिति १ हजार ९९ सदस्यीय बनाउने निर्णय गरेको थियो । पार्टीको संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलले आयोजक समितिको सदस्य संख्या ९ सय ९९ सिफारिस गरेपनि बाँकी रहेकालाई समेत समेट्न १ हजार ९९ सदस्यीय समिति बनाउने निर्णय गरिएको माओवादीको भनाइ छ । शुरुमा माओवादी केन्द्रको आयोजक समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय भएपनि अहिले त्यो संख्या बढेर १ हजार ९९ पुगेको हो । त्यस्तै माओवादीले २ सय ५५ सदस्यीय पोलिटब्युरो कमिटी र ८५ जनाको सचिवालय समिति बनाएको छ ।
पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने दाबि गर्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली पछि थप्ने मिल्ने व्यवस्था कायम राख्दै जम्बो समिति गठन गर्ने निर्णय गरेको बताएको छ । माओवादीले ६ महिनादेखि १ बर्ष भित्र एकता महाधिवेशन गरेर सबै पदाधिकारी, पोलिटब्यूरो सदस्य, स्थायी समिति सदस्यको टुङ्गो लगाउने घोषणा गरेको छ ।