बजेटमाथिको छलफल जारी

काठमाडौं–जेठ १९ । आर्थिक वर्ष २०७३०७४ को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ ।

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दलका सांसद् महेश आचार्यले विगत १५ वर्षको सबैभन्दा नाजुक अवस्थाको आर्थिक बृद्धिदर भएको अवस्थामा बजेटको आकार ठुलो हुँदा दोहोरो अंकको मारमा महगी बढेको र पूजीगत खर्च गर्ने क्षमता घट्दै गएको बताउनुभएको छ । छलफलमा बोल्दै एमालेका सांसद रविन्द्र अधिकारीले अहिलेको आर्थिक बृद्धिदर ० दशमलव ७७ प्रतिशत भएको भन्दै बजेट त्यही अंकको आधारमा नहुने बताउनुभयो । उहाँले अघिल्लो वर्षको वार्षिक बजेट समेत सन्तुलित नभएको भन्दै अहिलेको बजेट ईतिहासकै राम्रो भएको जिकिर गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्कीले अहिलेका अर्थमन्त्रीलाई अर्थशास्त्रको पाठ पढाउने काम भइरहेको भन्दै विगत २४ वर्षको राजनीतिक अवधिमा मुलुकले समस्याको जिम्मेवारी कांग्रेसकै अर्थशास्त्रीहरुले लिनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीको तलब बृद्धि गर्दा पीयन देखि सचिवसम्मका लागि एकै तहको तलब बृद्धि गर्न भने बजेट चुकेको बताउनुभयो । बजेटमाथिको सैद्धान्तिक छलफल बिहिबार पनि जारी रहनेछ ।

बुधबारको संसद बैठक आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध केही साना दलका सांसदले बहिष्कार गरेका थिए ।

तपाईको प्रतिक्रिया