काठमाडौं–जेठ १९ । नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन आयोजक समिति बढाएर ९ सय ९९ सदस्यीय बनाउने तयारी थालेको छ ।
पार्टी संगठनसम्बन्धी प्रस्ताव तयार पार्न गठित कार्यदलले महाधिवेशन आयोजक समिति बढाउने प्रस्ताव तयार गरेसँगै केन्द्रिय सदस्य संख्या बढ्ने देखिएको हो । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल निवाससमा मंगलबार साँझ बसेको बैठकमा कार्यदलका तर्फबाट संयोजक वर्षमान पुन अनन्तले सदस्य बढाउने बारेको प्रतिवेदन बुझाएपछि जम्बो कमिटि बन्ने स्पष्ट जस्तै भएको छ ।
यसअघि, माओवादी केन्द्रको आयोजक समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय गरेपनि १ सय सदस्यको नाम तय भएको थिएन । कार्यदलले बुझाएको प्रस्ताव अनुसार समिति बन्ने निश्चित भए रिक्त एक सयसहित अन्य चार सयको नामावली थपिने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जम्बो आयोजक समिति पार्टीका लागि आवश्यकता भएको प्रतिक्रिया दिएपनि अन्तिम निर्णय बुधबारको बैठकले गर्ने बताइएको छ ।
आयोजक समितिको संख्या, नेताहरूको नाम, सचिवालय तथा पोलिटब्युरोको संख्याको अन्तिम किनारा आज लाग्नसक्ने केन्द्रका नेताहरुले बताएका छन् ।