बजेट सूचना चुहावट छानविन गर्न विशेष समिति गठन, सदन सुचारु

Samsad-bhawan-1काठमाडौं–जेठ १८ । आर्थिक वर्ष २०७३ ०७४ को वार्षिक बजेट संसदमा पेश हुनुपूर्व सूचना पत्रपत्रिकामा चुहाएको विषय बारे छानविन गर्न संसदीय छानविन समिति गठन गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट सूचना चुहिएको बारे छानविन हुने प्रतिबद्धता नआएसम्म सदन चल्न नदिने अडान लिएपछि संसदको अवरोध हटाउन छानविन समिति गठन भएको हो । सत्तापक्ष र प्रतिपक्ष दलबीच भएको सहमति अनुसार संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले संसदको नियमावली २०७० को ११६ को उपनियम २ बमोजिम बजेटको सूचना चुहावटबारे छानविन समिति गठनको प्रस्ताव राख्न समय दिनुभएको थियो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र कांग्रेस तथा माओवादी केन्द्रका दुई प्रमुख सचेतक समर्थक रहेको विशेष समिति गठनको प्रस्ताव स्विकृत भएपछि सदनको कमकारबाही सुचारु भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद रमेश लेखकको संयोजकत्वमा नौ सदस्यीय विशेष समिति गठन हुने सहमति भएपनि अन्य सदस्यहरुको नाम पछि सिफारिस गर्ने बताइएको छ । छानविन समितिको कार्यवधि तीन महिना पन्ध्र दिन तोकिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट पेश गर्नु पूर्व नै बजेट सम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक भएको भन्दै कांग्रेसले सोमबारको संसद बैठक अबरुद्ध पारेको थियो ।

तपाईको प्रतिक्रिया