भूकम्प प्रभावित क्षेत्रका ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

मोरङ–जेठ १८ । मोरङको हात्तीमुडा–७ स्थित मनमोहन स्मृति पोलिटेक्निकल कलेजले भूकम्प प्रभावित क्षेत्रका ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ ।

फाइल फोटो

नेपाल सरकार र सिटिइभिटीको सहयोगमा मनमोहन स्मृति पोलिटेक्निकल कलेजले भूकम्प प्रभावित क्षेत्रका ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने भएको हो । सिभिल इन्जिनियरिङको तीनवर्षे डिप्लोमा कोर्ष निःशुल्क अध्ययनका लागि पोलिटेक्निकल आएका ४० जना विद्यार्थीलाई सोमबार हात्तीमुडा–७ स्थित पोलिटेक्निकलको भवनमा एक समारोहको बीच स्वागत गरेको थियो । पोलिटेक्निकलका प्राचार्य डा सुवासश्री पोखरेलले नेपाल सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त पहलमा गरिब, पिछडिएको समुदाय, दलित, मधेसी, आदिवासी तथा महिलाका प्राविधिक शिक्षा उपलब्ध गराउँदै आएको बताउँनुभयो ।

सिटिइभिटीको सक्रियतामा सम्बन्धित जिल्लाका जिल्ला शिक्षा कार्यालयको सिफारिसमा छनोट भएका १० जिल्लाका पाँच छात्रा र ३५ छात्रले निःशुल्क अध्ययनको अवसर पाएका छन् । सिन्धुपाल्चोकबाट १५, गोरखाबाट चार, सिन्धुलीबाट चार, दोलखाबाट चार, रामेछापबाट तीन, नुवाकोटबाट तीन, काभ्रेबाट दुई, काठमाडौँबाट एक, ललितपुरबाट एक जना यो छनौटमा परेका छन् ।

तपाईको प्रतिक्रिया