काठमाडौं–जेठ १७ । व्यवस्थापिका–संसद्को चौथो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन ।
तीन बजे चौथोपटक बसेको संसद् बैठकमा कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले बजेटका सूचना चुहाइएको घटनाको छानबिन नभएसम्म सदनको कारबाही अगाडि बढ्न नदिने जिकिर गर्नुभएको थियो । उहाँले सत्तापक्षसँग मिलेर काम गर्न कांग्रेस तयार रहेको रहेको भन्दै निकासका लागि सरकारको अग्रसरता आवश्यक हुने बताउनुभएको थियो । सांसद् न्यौपानेले बेलायतमा बजेट प्रस्तुत हुनु २० मिनेटअघि बजेट सार्वजनिक हुँदा अर्थमन्त्रीले राजीनामा दिनुपरेको सुनाउँदै पत्रपत्रिकामा बजेटमा परेका विषय अगाडि नै सार्वजनिक हुन गम्भिर घटना भएको जिकिर गर्नुभयो । उहाँले आफ्नो भनाई राखे लगत्तै नेपाली कांग्रेसका सबै सांसदले आ–आफ्नो आसनबाट उभिएर बैठक अवरोध गरेका थिए ।
सभामुख ओनसरी घर्तिले बारम्बर आग्रह गर्नुभए पनि त्यसको सुनुवाइ नभएपछि मङ्गलबार ११ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गर्नुभएको थियो । आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची थियो ।