काठमाडौं–जेठ १६ । नेपालमै पहिलो पटक सामुदायिक रेडियोमा कार्यरत पत्रकारहरुको सम्मेलन आयोजना भएको छ ।
ललितपुरमा आयोजना भएको उक्त सम्मेलनमा २२ बढी जिल्लाका समुदायिक रेडियोका सयौं सञ्चारकर्मीहरुको सहभागिता रह्यो । दक्षिण एसियामै पहिलो पटक सामुदायिक रेडियो सुभारम्भ भएर सबैभन्दा बढी रेडियो तथा सामुदायिक सञ्चारकर्मीहरु उत्पादन गरि नयाँ इतिहास रच्न सफल भएपनि अहिलेसम्म सामुदायिक रेडियोका सञ्चारकर्मीहरु एकाकार हुन सकेका थिएनन् । सामुदायिक सूचना नेटवर्कको ७ औँ बर्षिक उत्सवको अवसर पारेर आयोजित यो सम्मेलनले सामुदायिक रेडियोको वर्तमान अवस्थाको यथार्थ चित्र उतार्दै रेडियो तथा सञ्चारकर्मीलाई अझ जिम्मेवार रुपमा समुदायको पक्षमा काम गर्न सहयोगी भुमिका खेल्ने अपेक्षा लिइएको छ ।
विभिन्न सामुदायिक रेडियोबाट भेला भएका सञ्चारकर्मीलाई सम्मेलनका दौरान सूचना तथा सञ्चारमन्त्री शेरधन राई, सरकारका मूख्य सचिव डा. शोमलाल सुवेदी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा, सञ्चारविद् पी खरेल, भरत पोखरेल, सरु जोशी लगायतका वक्ताहरुले सञ्चार क्षेत्रको वर्तमान अवस्था र अबको बाटो र समुदायिक रेडियो तथा सञ्चारकर्मीको भुमिका बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा रेडियो नेपाल, कान्तिपुर रेडियो, बिबिसी नेपाली सेवा लगायतमा कार्यरत बरिष्ठ रेडियोकर्मीहरुले सामुदायिक रेडियोको भुमिका र अबको काम कारबाही कस्तो हुनुपर्छ भन्ने बारे धारणा राख्नुभएको थियो ।
यो सम्मेलनले सामुदायिक रेडियो र स्थानिय पत्रकारको वर्तमान अवस्थाको चित्रण गर्दै उनीहरुलाई समाजको हित तथा प्रगतिमा अधिकतम उपयोग गर्न शैदान्तिक आधार तय गर्ने बताइएको छ । यस अघि सामुदायिक रेडियोमा कार्यरत सञ्चारकर्मीलाई क्षमता अभिबृद्धि तथा विप्पत् रिपोटिङ बारे तीन दिने तालिम समेत दिइएको थियो ।