काठमाडौं–जेठ १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०७२/७३ को समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण संसद्मा पेश गर्नुभएको छ । शुक्रबार बसेको संसद् बैठकमा मन्त्री पौडेलले बजेट आउन दुई दिन बाँकी रहेका बेला आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपूर्व चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले हासिल गर्न सकेका उपलब्धि र चुनौतीलगायत विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ । बैठकमा सभामुख ओनसरी घर्तिले संविधानले व्यवस्था गरेअनुसार सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते प्रस्तुत गर्ने जानकारी गराउनुभएको थियो ।