साँखुमा घरहरू बनाउन शुरू

शम्भु दंगाल, काठमाडौं–जेठ १४ । ऐतिहासिक महत्त्व बोकेको काठमाडौको प्राचीन शहर साँखुका अधिकांश पुराना घर गत वर्षको विनासकारी भूकम्पबाट भत्किए, तर एक वर्ष बितसक्दा पनि भग्नाबशेष अझैपनि पूर्ण रुपमा हटाइएको छैन । भूकम्पले भौतिक संरचना भत्काउँदा शंखरापुर नगरपालिकामा एक सय १४ र साँखु बजारमा ६३ जनाको ज्यान गएको थियो । भूकम्पले बस्ति बिनास गरेको १३ महिना पुगिसक्दा पनि सरकारको अनुहार देख्न नपाएका स्थानीय यतिबेला खेतबारी बेचेर तथा ऋणधन गरेर आफै घर बनाउन जुटेका छन् । आलु खेतीका लागि उर्बरसाँखुका खेतीयोग्य जमिनमा बिस्तारै टहरा र नयाँ घर थपिँदै जान थालेका छन् । बजार क्षेत्रमा पनि भग्नाबशेष हटाएर कतिपय भूकम्प प्रभावितहरु वर्षाअघि नै बासस्थानको बन्दोबस्तमा लागेका हुन् । घर बनाउनका लागि २ लाख रुपैयाबाट पहिलो किस्ताका रुपमा ५० हजार राहत बितरण गर्ने भनेको सरकारले हालसम्म भूकम्पप्रभावितको लगत संकलनको काम समेत नगरेकोमा उनीहरु खिन्न छन् । घर भूकम्पप्रतिरोधी बनाउनुपर्ने भन्दै सरकारले यसअघि विभिन्न मापदण्ड र मोडेल सार्वजनिक गरेको थियो । अझ प्राचीन महत्त्व बोकेका ऐतिहासिक क्षेत्रको पुनर्निर्माण मौलिकता नहराउने गरी गरिने बताएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हात्तीको देखाउने दाँत बन्नु र सरकारले काममा भन्दा कुरामा मात्रै कीर्तिमान बनाउन थालेपछि आफूखुसी घर बनाउन बाध्य हुनुपरेको भूकम्पप्रभावितहरु बताउछन् । बिभिन्न समयमा ठूला ठूला औपचारिक सभा समारोहमा भूकम्पपीडितका बस्ति पूर्ननिमार्णबारे सरकारले गरेको प्रतिबद्धता केबल भाषणमै सीमित भएको छ । तत्काल संभव नहुने ठूला ठूला भाषण गर्दै सरकार रमाइरहेको र बर्षदिन बितिसक्दा एउटा सिन्कोसमेत नभाँची पीडित जनताको घाउमा नुनचुक छरिरहेको भूकम्पप्रभावितहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया