स्वास्थ्यकर्मीले नै रगत दिएर बिरामी बचाउनु पर्ने बाध्यता

blodबाजुरा– जेठ १२ । सुदूरका पहाडी जिल्लामा स्वास्थ्यकर्मीले नै रगत दिएर बिरामी बचाउनु पर्ने बाध्यता रहेको छ ।

बाजुरा, अछाम, बझाङ जिल्लाका वासिन्दामा निरन्तर रगत दिँदा कुनै हानी नहुने भन्ने चेतनाको अभावका कारण रगत अभाव हुने गरेको छ । त्यस्तै भएको छ, अछाम धमाली गाविस–९ ३५ वर्षीया जौमती विष्ट पाँच दिन अगाडि नियमित रक्तश्राव भएपछि जिल्ला अस्पताल मङ्गलसेन पु¥याइयो । रगत अभावका कारण उनको त्यहाँ उपचार हुन नसकी बयालगडा अस्पतालमा पठाइयो । त्यहाँ पनि उनलाई दिने रगत भएन । विष्टका लागि निरन्तर रगत खोज्दा पनि नभेटेपछि उनका आफन्तले ज्यान जोगिने आश मारिसकेका थिए ।

“हामीले फेसबुकमार्फत उनलाई चाहिने एबी निगेटिभ रगतको आवश्यकता भएको कुरा सूचना प्रवाह गरौँ र जिल्ला स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत सञ्जयकुमार महासेठले आफू आउँदासम्म बिरामी बाँच्ने भए आउने प्रतिबद्धता दिनुभयो” उपचारमा संलग्न स्वास्थ्यकर्मी महेन्द्र बाहले बताउनुभयो । बाजुराबाट गाडीको पैसा तिरेर अछाम पुगेर आफू र भ्याक्सिनेटर पार्वती जोशीले रगत दिई सकेपछि बिरामी बचाउन सफल भएको कुरा महासेठले बताउनुभयो ।दुईवटा छोरीकी आमा बनिसकेकी विष्टको यो तेस्रो गर्भ थियो । गर्भ खेर गएर रक्तश्रावका कारण उनको शरीरमा हेमोग्लोबिन मात्रा ४.५ मात्र थियो । चिकित्सकका अनुसार छ दशमलबभन्दा न्यून रगत रहेकाले उनको स्वास्थ्य अवस्था खतरामा रहेको थियो ।

विष्टका भाइ भीमबहादुर चलाउनेले भन्नुभयो “अछाम र नजिकैका जिल्लादेखि धनगढी, नेपालगन्जमा समेत खोज्दा पनि उक्त रगत दिने मान्छे नपाएपछि दिदीको ज्यान बाँच्ने आशसमेत मरिसकेको थियो ।” रगत नपाएको पाँचौँ दिनसम्म बयलपाटा अस्पतालमा कार्यरत एचए महेन्द्र बायलले ठूलो सहयोग गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत सञ्जयकुमार महासेठले भन्नुभयो “भाइ महेन्द्रले म सँग फेसबुकबाट कुरा हँुदा मैले बिरामीको बारेमा थाहा पाए र रगत दिन तयार भए र भोलिपल्ट मार्तडीबाट जिप ‘रिजर्भ’ गरेर बयलपाटा अस्पताल पुगेर रगत दिएर आएँ, बिरामी ठीक भए गएको खबर आएपछि खुसी लागेको छ ।” महासेठले थप्नुभयो “अस्पतालका कर्मचारी धेरै खुसी हुँदै मलाई धेरैधेरै धन्यवाद दिए । यसरी अरु जिल्लाबाट त्यहाँ गएर रगत दिने म पहिलो व्यक्ति भएको पनि भने ।” मङ्गलबार उनलाई रगतको मात्र १० पोइन्ट पुगेर सञ्चो भएपछि उनीलाई अस्पतालले घर पठाइएको छ । रासस

तपाईको प्रतिक्रिया