काठमाडौं–जेठ १२ । राज्यको उच्च ओहदाका व्यक्ति जसलाई कानुनले विशिष्ट व्यक्ति अर्थात भिआइपीको दर्जा दिएको छ । तर राज्य सञ्चालनको विशिष्ट पदमा बसेका उनिहरुको सुरक्षा बापत नै राज्यले ठूलो धनरासी अर्थात ३ अर्ब बढी खर्च ब्यहोर्नुपरेको छ ।
यस्ता विशिष्ट व्यक्तिहरुलाई सुरक्षा थ्रेट मुल्यांकन गर्दै सुरक्षा व्यवस्था मिलाइएको हुन्छ । जसका लागि ७ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालीत छन् । सडक यात्रुलाई पर्ने असुविधाको कुनै पर्वाह नै नगरी यसरी सडक नै कब्जा गरेर हिड्ने भिआइपीको सवारी दृश्य हामिले बर्षौ देखि हेर्दै आएका छौँ । संसदको सार्वजनिक लेखासमितीको प्रारम्भिक तथ्यांकले तपाई हाम्रो यात्रामा असहजता थप्ने यस्ता भिआइपीले सुरक्षाका नाममा बर्षेनी राज्यको ढुकुटीबाट ३ अर्व बढी रकम सिध्याइरहेको र उनिहरुकै नाममा पचहत्तर सय बढी सुरक्षाकर्मी परिचालित भएको देखाएको छ । लेखा समितिका अनुसार भिभिआइपी अर्थात राष्ट्रका प्रमुख पाँच व्यक्तिहरूको सुरक्षाका लागि मात्रै मासिक ५ करोड भन्दा बढी रकम खर्च हुनेगरेको छ । अझ ६ सय १ जना सांसद मध्ये १ सय ८४ जनाले सुरक्षाकर्मी साथमै राखेका छन् कतिपयले त सामाजिक प्रतिष्ठा र पँहुच बढाउने नाममा सुरक्षा कर्मीको दुरुपयोग गरेका छन ।
सुरक्षाविद्हरुले ठुलावडाको अघिपछि सुरक्षाको ताँती लगाउँदैमा सुरक्षा मजवुद नहुने बताउँछन । हुनपनि कतिपय सार्वजानिक कार्यक्रम मै भिआइपीहरु माथि आक्रमणका घटना देखिएका छन् । आधुनिक प्रविधि तथा विशिष्टीकृत सुरक्षा फोर्स अभावले विशिष्ट व्यक्तिहरूको सुरक्षामा अदृश्य ‘थ्रेट’ बढ्दै गएको बताइएको छ । अहिलेको भिआइपी सुरक्षा व्यवस्थाले एकातिर सुरक्षा निकायको ठूलो जनशक्ति र राज्यको ठूलो रकम दुरुपयोग भएको छ अर्कोतर्फ सुरक्षा व्यवस्था समेत फितलो देखिएको छ ।
आधुनिक शैलीको विशिष्टकृत भीआइपी सुरक्षा व्यवस्था अपनाउँदै भीआइपी सुरक्षाको नाममा हुँदै आएको ठूलो जनशक्ति र धनराषी दुरुपयोग रोक्ने बारे सरकार चनाखो बन्नुपर्छ ।