तीन दिन भित्र अदालतमा उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश

supreme-court-buildingकाठमाडौं–जेठ ११ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई अवहेलना मुद्दामा जवाफ दिन तीन दिनभित्र उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले दाहाललाई अदालतमा उपस्थि हुने आदेश जारी गरेको हो । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्की दिँदै दाहालले गत भदौ ५ गते ‘अदालतको जात के हो ?’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । सर्वोच्चले उक्त मुद्दामा आरोपित मध्ये एकलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । दाहालको अभिव्यक्तिबाट सर्वोच्च अदालतको मर्यादामाथि गम्भीर आघात पुगेको र त्यसबाट अदालतको अवहेलना भएको जिकिर रिटमा गरिएको छ ।

दाहाल विरुद्ध द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाको गलत टिप्पणी गरी अवहेलना गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले जेठ ४ मा रिट दायर गरेका थिए ।रिट निवेदनमा दाहाललाई एक वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनुपर्ने माग दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया