रुकुम– जेठ । रुकुमका अधिकांश विद्यालयहरु अहिले विद्यार्थी अभावमा बन्द भएका छन् । तर अहिले बिद्यालय बन्द हुनुको कारण भने फरक छ ।
जिल्लाका अधिकांश सर्वसाधारण यार्सा टिप्न लेक तर्फ लागेपछि विद्यालय बन्द भएको हो । यो यार्साको मुख्य मौसम हो । यस क्षेत्रका अधिकांश सर्वसाधारण बर्षमा संकलन गरेको यही यार्साको कमाइले गुजारा चलाउने गर्छन । हुनत, अघिल्ला बषहरुमा पनि यार्सा खोज्ने समयमा विद्यालय बिदा दिइने गरिको थियो तर शिक्षहरु अन्य बिदा कटाएर विद्यालय बन्द गरिएको बताउँछन् ।
अहिले जिल्लाका हुकाम र रन्मामैकोट गाविसमा रहेका १६ वटा विद्यालय बन्द छन् । यार्सा पाउने क्षेत्र पुपाल लेक क्षेत्रसँग जोडिएका गाविसका विद्यालयहरु समेत बन्द भएका छन् । कामविशेष परेकाबाहेक स्थानीय शिक्षक पनि सबै यार्सा टिप्न जाने गरेका छन् । आर्थिक उपार्जन हुने भएकाले यसरी यार्सामा सबैको आकर्षण बढेको हो । अहिले स्थानीय पालको अस्थायी बास नै बनाएर आवासीय रुपमा यार्सा टिप्ने क्षेत्रमा बस्न थालेका छन् ।
रुकुम सदरमुकाम खलङ्गाबाट गाडीमा एक दिनको यात्रा र चार दिन उत्तरपूर्व पैदल हिँडेपछि पुपाल लेक पुगिन्छ । लेक आसपास क्षेत्रका बासिन्दासमेत करिब दुई दिन हिँडेर सो क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ । समुद्र सतहबाट चार हजार ५०० मिटरभन्दा माथि हिमाल क्षेत्रमा यार्सा पाइने भएकाले जेठ १४ गते देखि यस क्षेत्रमा यार्सा टिप्न खुला गरिन्छ ।