दृष्टिविहीन इन्जिनियर जीवनमरणको दोसाँधमा

काठमाडौँ, १० जेठ । दृष्टिविहीन इन्जिनियर हिम गौतम ब्रेन (मस्तिष्क) क्यान्सर भई जीवनमरणको दोसाँधमा पुग्नुभएको छ ।

दृष्टि गुमेपछि उहाँले विकसित गर्नुभएको सफ्टवेयर ‘टेक्स्ट टू स्पिच’ ले अहिले नेत्रहीन तथा दृष्टिविहीन दुवैलाई सूचना प्रविधिमा पहुँच पु¥याउन सहयोगीसिद्ध सावित भइरहेको छ । अस्ट्रेलियन दूतावासको आर्थिक सहयोगमा उहाँले विकसित गर्नुभएको सो सफ्टवेयरलाई अहिले अधिकांश दृष्टिविहीनले आफ्ना मोबाइल र कम्प्युटर एप्समार्फत उच्च शिक्षा अध्ययनका लागि सुन्न प्रयोग गरिरहेका छन् ।

इन्जिनियर गौतमका छोरा पुष्कल गौतमले दिनुभएको जानकारीअनुसार केही महिनाअगाडि उहाँमा ब्रेन क्यान्सर देखिएको हो । “बुबा अहिले बोल्न नसक्ने अवस्थामा पुग्नुभएको छ, आवाजले भेट्न आउनेलाई मुस्किलले चिन्न सक्नुुहुन्छ, उपचारका लागि आर्थिक अभाव भएको छ, सहयोगका लागि म सबैमा आग्रह गर्दछु”, पुष्कलले भन्नुभयो । खानेपानी तथा ढल निकास विभागमा कार्यरत रहेकै अवस्थामा गौतमको दृष्टि एक्कासि गुमेको थियो । यसपछि सूचना प्रविधिमा पहुँच नभएको अनुभव भएपछि उहाँले सो सफ्टवेयर विकसित गर्नुभएको थियो ।

सो सफ्टवेयरलाई नेपाल नेत्रहीन सङ्घले निःशुल्क वितरण गरिराखेको छ । नेपाली र अङ्ग्रेजी भाषामा निर्मित सो सफ्टवेयरलाई विश्वका १४ भाषामा रुपान्तरण गर्ने कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । यसैबीच, ब्रेन क्यान्सर हिमको सहयोगस्वरुप सो सङ्घले उहाँका छोरालाई रु २० हजार प्रदान गरेको छ ।

एक लाख दृष्टिविहीनलाई गमनशीलता अभिमुखीकरण
यसैबीच, सङ्घका कार्यकारी सल्लाहकार नरबहादुर लिम्बूले आर्थिक वर्ष २०७३–७४ मा दृष्टिविहीन विद्यार्थीका लागि ११ हजार पाठ्यपुस्तक उत्पादन गरी वितरण गर्ने कार्य अगाडि बढाइएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सङ्घले अहिलेसम्म पुनःस्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी दृष्टिविहीनलाई गमनशीलता अभिमुखीकरण, दैनिक दिनचर्या सीप, आँखा उपचार तथा ४० हजार दृष्टिविहीन तथा अल्पदृष्टि व्यक्तिलाई व्यावसायिक तालिका, कम्प्युटर शिक्षा, सङ्गीत जस्ता विषयमा तालिम प्रदान गरिसकेको छ ।

हालसम्म एकसय दृष्टिविहीनले स्नातकोत्तर, २५० ले स्नातक र एकहजार भन्दा बढीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेका छन् । तीमध्ये शिक्षण पेसामा चारसय, निजामती सेवामा १०, होटल, कलकारखाना जस्ता क्षेत्रमा एकसय दृष्टिविहीनले रोजगारी प्राप्त गरेका छन् ।

यसैगरी, सङ्घले ४५ जिल्लामा आफ्नो शाखा विस्तार गरी तीन हजारभन्दा बढी नेत्रहीनलाई आबद्ध गराएको छ । रासस

तपाईको प्रतिक्रिया