काठमाडौं–जेठ ९ । बुद्ध जयन्तीको सन्दर्भमा १० बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन सकिएको छ । २५ सय ६० औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भएको कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । नेपाल सरकारको आयोजनामा भएको उक्त कार्यक्रममा पर्यटन मन्त्री आन्नदप्रसाद पोखरेलको संयोजकत्वमा काठमाडौंमा दुई दिन सम्म भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठिको १० बुँदे घोषणा पत्र जारी गरिएको हो । १० बुदेँ घोषणापत्रमा विश्व शान्तिका लागि बुद्धको सन्देशको चर्चा गर्दै लुम्बिनीको विकास र प्रचारमा जोड दिनुपर्ने, बुद्ध नेपालको लुम्बिनीमा नै जन्मेको कुरामा विवाद नभएकाले लुम्बिनी गुरुयोजना पूरा गर्दै तिलौराकोट, कुदान, देवदह, रामग्रामको विकासमा जोड दिनुपर्ने, ग्रेटर लुम्बिनी योजना बनाएर लुम्बिनीलाई शान्ति सहर बनाउनेतर्फ नेपाल सरकारले जोड दिनुपर्ने उल्लेख छ गरिएको छ । त्यसैगरी, लुम्बिनी बुद्धिज्मको उद्गमस्थल रहेकाले विश्वजगत्का बुद्ध अनुवाइको आकर्षकणको केन्द्रबिन्दुका रूपमा विकास गर्न प्रचार गर्नुपर्ने, यस क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसंग सहयोगको समन्वय बढाउनुपर्ने, बुद्ध शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, लुम्बिनीलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकसित गरिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ । बुद्ध जयन्तीको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजारजना क्षमताको सभाहल एक वर्ष्भित्र निर्माण गरिने उद्घोष गर्नुभयो । उक्त समारोहलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनीलाई विश्वमा चिनाउन संयुक्त राष्ट्रसंघका महासचिवलाई लुम्बिनी ल्याउन आफू ग्रेटर लुम्बिनीको संयोजक बनेर उच्चस्तरमा योजना अगाडि बढाएको बताउनुभएको थियो । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले बुद्धको सन्देशलाई विश्वभर अझ व्यापक बनाउन सरकारले वातावरण तयार पार्नुपर्ने धारणा राख्नुभएको थियो ।