डोल्पा–जेठ ८ । जाजरकोट–डोल्पा भेरी कोरीडोर मार्गको मन्काबगरमा पहिलो पटक यातायात सेवा सन्चालनमा आएको छ । रुकुमको गोतामकोट छरीबगर देखि मन्काबगरसम्मको १६ किलोमिटर सडक खण्डमा यातायात सेवा सन्चालनमा आएको हो । यातायात सन्चालनमा आएपछि जाजरकोटको भगवती सिउन, रुकुमको मन्का, ज्यामिरे, त्रिवेनी, छिमी र डोल्पाली जनतालाई ठुलो राहत पुगेको छ । नेपाली सेनाले झण्डै १० वर्षको लामो अथक प्रयास पछि मन्काबगरमा यातायात सन्चालनमा आएको हो । सरकारले २०६४ सालमा नेपाली सेनालाई जाजरकोट डोल्पा सडकको निर्माणको जिम्मा लगाएको थियो । सरकारले उत्तर –दक्षिण लोक मार्गको रुपमा परिणत हुने सडकलाई बजेट विनियोजनमा कम प्राथमिकता दिएको स्थानीयले बताएका छन् । यो मार्ग माथिल्लो डोल्पा हुँदै तिब्बतको नाका जोड्ने उत्तर – दक्षिण लोक मार्ग बन्ने छ । १ सय १८ किलोमीटर लम्बाईको जाजरकोट–डोल्पा सडकको १०२ किलोमिटर ट्रयाक खोलिएको हो । जाजरकोट र रुकुम खण्डको ७४ किलोमीटर सडकमा यातायात संचालन आएको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनु भयो ।यातायात सुचारु भएपछि सामान ओसारपसार गर्न सहज भएको छ । डोल्पा भुभागको १६ किलामीटर ट्रयाक खोल्न बाँकी रहेको निर्माण कार्यदलले जनाएको छ । डोल्पा खण्डको बजारे भीर, साङ्ले भीर, चिण्डे, ओडारे, करवगार लगायत २२ भीरमा कडा चट्टान रहेकाले सडकको ट्र्याक खुल्न सकेको छैन । असार मसान्तसम्म सडक डोल्पाको सिमाना त्रिवेनीमा पुग्ने सेनाले जनाएको छ । सेनाले जाजरकोटको मनमई, तल्लु, रुकुमको मनकाबगर, डोल्पाको त्रिवेनी, खदाङ्ग लगायत ६ स्थानमा सुरक्षा बेस क्याम्प स्थापना गरेर सडक निर्माण कार्यलाई तीब्रता दिएको छ । चट्टान बाहेकका स्थानमा कच्ची कटान पुरा भैसकेको छ । छिन्चु जाजरकोट सडकलाई पनि सेनाले ८ बर्ष अघि पूर्णता दिई जुम्ला सदरमुकाम खलंगामा मोटर पु–याएको थियो ।