कसरी मनाउन शुरू गरियो बुद्ध जयन्ती ?

काठमाडौं–जेठ ८ । ईसापूर्व ५ सय ६३ अर्थात आजभन्दा २५ सय ६० वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा लुम्बिनीमा सिद्धार्थको जन्म भएको हो । राजकुमार सिद्धार्थले मानिसले पाएका विभिन्न दु:ख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्केका थिए4 । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र मोक्ष प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । बुद्ध जयन्तिको अवसरमा नेपाल सरकारले लुम्बिनीमा भब्य समारोह गर्‍यो । समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन सामारोहमा बुद्धजयन्ती समारोहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रिगण, विभिन्न दलका सांसद र राजनीतिक दलका नेताको सहभागिता थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लम्बिनीलाई धार्मिक पर्यटन क्षेत्रमा विश्वकै महत्वपूर्ण ठाउँको रूपमा अगाडि बढाउन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सकेसम्म एक बर्ष भित्र पाँच हजार मानिस अट्ने सभा भवन निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनभयो ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३ सय ५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बी सहभागी भएका थिए । बुद्ध जयन्तिको अवसरमा नेपालका अन्य ठाउँ र विदेशमा रहेका नेपालीहरू पनि विभिन्न कार्यक्रम गरे । पछिल्लो समय बुद्ध जन्म ठाउँ बारे भइरहेको गतल प्रचारलाई चिर्न समेत यस्ता कार्यक्रमहरूले प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया