काठमाडौं–जेठ ६ । नेपालका राष्ट्रिय खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलतामा खेलाडीलाई सम्मान स्वरुप पुरस्कार राशि घोषणा गर्ने होडबाजी नै चलेपनि व्यवहारमा कार्यान्वयन पाइएको छैन ।
सरकारले खेलाडीलाई पुरस्कार राशि घोषणा गरको लामो समय बित्दा समेत अहिलेसम्म खेलाडीको हातमा परेको छैन । गत बर्षको माघमा बहराइनको २३ बर्ष उमेर समूहलाई पराजित गर्दै नेपालले बंगबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्यो । २३ बर्षपछि नेपाली फुटबलले अन्तराष्ट्रिय उपाधि हात पारेपछि सरकार र एन्फाले घोषणा गरेको यो पुरस्कार ५ महिना वितीसक्दा समेत खेलाडीको हातमा परेन । सरकारले जनही खेलाडी र प्रशिक्षकलाई २ लाख नगद दिने तथा अखिल नेपाल फुटबल संघ एन्फाले जनही खेलाडी र प्रशिक्षकलाई ५ लाख नगद दिने घोषणा गरेपनि अहिलेसम्म कार्यान्वयन गरेका छैनन ।
भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्यसहित ६० पदक जितेपछि पनि पुरस्कारको घोषणा भयो । १२औं साग खेलकुद आउनु अघि नै दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण जित्नेलाई ५ लाख, रजत जित्नेलाई ३ र कास्य पदक जित्ने खेलाडीलाई २ लाख नगद दिने भन्दै सरकार आफैले गरेको घोषणा पनि अहिलेसम्म घोषणामा मात्रै सिमित छ । १२औं साग फुटबलमा स्वर्ण जितेसंगै देश फुटबलमय बनेको बेला एन्फाले खेलाडी र प्रशिक्षकलाई जनही ५ लाख नगद दिने भन्दै गरेको घोषणा पनि कार्यान्वयन भएन ।
यसरी घोषणा गरेको पुरस्कार वितरणमा ढिलाइ हुँदा सरकार र खेलकुद क्षेत्रका निकाय प्रति खेलाडीले गर्ने विश्वास त गुम्छ नै यसले खेलाडीको मनोबल पनि उल्टै गिराउन सक्छ । यतातर्फ सोच्ने हो कि ?