माओवादी घटकबीच अन्तत भयो एकता, ब्यवस्थापनको चुनौती कायमै

काठमाडौं–जेठ ६ । एकीकृत नेकपा माओवादीले बिहिबार विभिन्न १० माओवादी घटकसँग पार्टी एकता गरेको छ । एकता घोषणासँगै पार्टीको नाम “नेकपा माओवादी केन्द्र” राखिएको छ ।

NCP_Maoist_Kendra_01एकता १० घटकबीच भएको बताइएपनि सबै माओवादी नेताहरु यसमा सहभागि छैनन । केहि नेताहरु भने एकता प्रक्रियामा अटाएका छैनन । केन्द्रमा एकीकृत माओवादी, क्रान्तिकारी माओवादीको रामबहादुर थापा पक्ष, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, नेत्रविक्रम चन्द्र नेतृत्वका विद्रोही समूह र गौरवशाली पार्टी समाहित भएका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी, वामपन्थी एकता पार्टी, नयां शक्ति निर्माण समूहका विद्रोही र लामो समयदेखि तटस्थ रहेकी जयपुरी घर्ती समेत सामेल हुनुभएको छ ।
१० घटकबीचको एकताबाट निर्माण भएको केन्द्रको अध्यक्ष एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहाल नै हुनुहुन्छ । एकतापछि अध्यक्ष दाहालले माओवादी पराजय अब अन्त्य भएको घोषणा सहित माओवादीबीचको एकतालाई नयाँ राष्ट्रिय एकताको सुरुवात भएको बताउनुभएको थियो । अध्यक्ष दाहालले मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई समेत एकता अभियानमा सहभागि हुन आह्वान गर्दै माओवादीबीचको एकताले मात्रै नेपालको राजनीतिक परिवर्तन संस्थागत गरेर राष्ट्रलाई समुन्नत बताउन सक्ने उद्घोष गर्नुभयो । पूँजीवादी जनवादी क्रान्ति सफल गर्दै समाजवादी क्रान्तिको तयारीमा नव गठित पाटी लाग्ने उहाँको धारणा थियो ।

एकता प्रक्रियामा आएका माओवादी नेता रामबहादुर थापा बादलले माओवादी एकता तात्कालिन क्रान्तिको बाँकी अभिभारा पुरा गर्ने खुट्किलो भएको भन्दै फुट, बैचारिक विभाजन भन्दा पनि एकताबाट माओवादी आन्दोलनको उद्देश्य पुरा हुने धारणा राख्नुभएको थियो । उहाँले राष्ट्रिय अभिभारा पुरा गर्ने गरि अभियानमा सहभागि हुन नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको थियो ।
नव गठित माओवादी केन्द्रमा ६९९ सदस्य महाधिवेशन आयोजक समिति घोषणा भएको छ भने पार्टीको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, महासचिवमा रामबहादुर थापा, उपमहासचिवमा कृष्णबहादुर महरा रहने बताइएको छ ।  जेठ ९ गते बस्ने समितिको पहिलो बैठकले बांकी पदाधिकारीको चयन गर्ने केन्द्रले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया