लाखौं मूल्यका काठ कुहिँदै , सम्बन्धित निकाय मौन

fire-woods-काठमाडौं–जेठ ५ । उपभोक्ताले मागबमोजिम काठ नपाइरहेको बेला सरकारी वनका लाखौं मूल्यका काठ कुहिएर खेर जान थालेका छन् । ढलेपडेका वनका काठ नियमित रुपमा लिलाम हुँन नसक्दा लाखौं राजस्व गुम्ने अवस्था देखिएको छ ।

अहिले महोत्तरी वनमा मात्रै ४२ हजार ८ सय २ क्यूफिट बढी काठ अलपत्र अवस्थामा छन् । उचित व्यवस्थापन अभावमा गोलियामा धमिरा लाग्ने, धोद्रो पलाउने, स्तर बिग्रिने लगायतका समस्या देखिएका छन् । जसका कारण ती काठ सड्न थालेको वन कर्मचारी स्वयम बताइरहेका छन् । सरकारी वन मातहतका १२ इलाका र दुई सेक्टर वन परिसरमा गोलिया काठ अहिले पनि अलपत्र छन् । मुद्दाका २ हजार ३ सय १२ क्युबिक फिट, बाँके मरहा साझेदारी वन, टुटेश्वर साझेदारी वन, गढन्ता बर्दिवास साझेदारी वन गरी तीन वटा साझेदारी वनका ९ हजार ७ सय ४९ क्युबिक फिट र ७४ वटा सामुदायिक वनका ३० हजार ७ सय ४१ क्युबिक फिट काठ अहिले महोत्तरीमा सड्न लागेका हुन ।

१२ वर्षदेखी काठ खुल्ला ठाउँमै राखिएपनि बेलाबेलामा हुने लिलाम प्रक्रिया विवादित बन्दा समस्या देखिदै आएको छ । काठ नपाउने ठेकेदारले विभिन्न निकायमा उजुरी गरेर अनावश्यक दुःख दिदा समस्या आएको जिल्ला वन कार्यालय महोत्तरी श्रोत बताउँछ । अहिले २७ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको २ हजार ३ सय १२ क्युबिक फिट काठ लिलाम गर्ने अवस्थामा रहेपनि ठूलो हिस्साको काठ बारे अझै अदालतमा मुद्दा चलिरहेको छ ।
सरकारले २०६६ जेठ २ गतेदेखि देशभर काठ कटान तथा ढुवानीमा प्रतिबन्ध लगाएको थियो । पछि काठ कटान खुल्ला भएपनि फेरी ०६८ मंसिर ११ गतेदेखि जिल्ला वन कार्यालय महोत्तरीले जिल्लाभरि काठ कटान र ढुवानीमा प्रतिबन्ध लगाएपछि काठको बिक्री निकासी ठप्प हुँदै आएको छ ।

२३ हजार ४ सय ५५ हेक्टर वन क्षेत्र रहेको महोत्तरीमा विभिन्न कारणबाट बसाइँसराइ गरि आएका व्यक्तिहरूले चुरे तथा भावर क्षेत्रमा ७ सय ५ हेक्टर वन अतिक्रमण गरेका छन् ।

तपाईको प्रतिक्रिया