काठमाडौँ – जेठ ४ । बढ्दो आधुनिकीकरण र बिलाशी जीवन शैलिका कारण नेपालमा रक्तचापका बिरामीको संख्या बढ्न थालेको छ ।
कुनै समय न्यून मात्रा देखिने ‘ब्लडप्रेसर’को समस्या आजभोलि अधिकांश नेपालीको समस्या बन्न थालेको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यकर खानापान, शारीरिक व्यायाम र मानसिक तनाब नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्न चिकित्सकहरुले आम सर्वसाधारणलाई सुझाव दिएका छन् । रक्तचाप घटबढ सामान्य समस्या भएपनि ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेतना अपनाउन चिकित्सकले भनेका हुन ।
अहिले २० देखि ३० वर्षका युवामा रक्तचापको समस्या बढी देखिन थालेको विभिन्न अस्पतालको तथ्यांकले देखाँउछ । जसमध्ये बेवास्थाका कारण धेरैले नियमित औषधि खानुपर्ने अवस्था समेत देखिएको छ । उच्च रक्तचापको कारणमध्ये करिब दुईदेखि तीन प्रतिशतको मात्रै कारण प्रस्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण अझै पत्ता लागेको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेक्षणले २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाईदेखि २०१३ जुनसम्म ५० जिल्लाका २१० वडाका १५ देखि ६९ वर्षसम्मका चार हजार १४३ जनामा त्यस्तो सर्भेक्षण गरेको थियो ।
हरेक पाँच वर्षमा गरिने सर्भेक्षणमा उच्च रक्तचापको समस्या देखिएका कुल २५ प्रतिशतमा ३१ प्रतिशत पुरुष र २०।६ प्रतिशत महिला छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान र रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयाघात, मतिष्काघात र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । सामान्य तर जोखिम समूहमा पर्ने भएका कारण विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचापलाई ‘सुषुप्त हत्यारा’को संज्ञा दिएको छ । नेपालमा गरिएका पछिल्ला सर्भेक्षणअनुसार युवामा हुने हृदयाघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्काघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनामा ९० प्रतिशत कारण उच्च रक्तचाप भएको पुष्टि चिकित्सकको छ ।
नेपाल हृदयाघात सचेतना केन्द्रले काठमाडौं उपत्यकाका सहरी युवा तथा वयस्क माझ गरेको एक सर्भेक्षणले १८ देखि ४० वर्षसम्मका २८ प्रतिशत युवामा उच्च रक्तचापको समस्या रहेको देखाएको छ । सर्भेक्षणले त्यसभन्दा डरलाग्दो तथ्यका रूपमा सो उमेर समूहका ४४ प्रतिशतमा उच्च रक्तचापको जोखिम रहेको देखाएको छ । अनुसन्धानमा पाँच हजार ४४३ जनाको दुवै हातको पाँच÷पाँच मिनेटको अन्तरमा उच्च रक्तचाप जाँच गरिएको थियो ।
उच्च रक्तचापको समस्या भएपछि यो पूर्ण रुपमा निको नहुने तर यसलाई रोकाम गरी यसबाट हुने अन्य रोगको खतरालाई रोक्नु आवश्यक छ ।