दार्चुला–जेठ २ । दार्चुलास्थित हिमाली गाविसका अधिकांश विद्यालय बन्द हुन थालेका छन् । यार्सा संकलनका लागी भन्दै सबै विद्यार्थी लेकतिर लागेपछि विद्यालय भटाभट बन्द हुन थालेका हुन ।
जिल्लाका हिमाली गाविस घुसा र खण्डेश्वरीका अधिकांश विद्यालय विद्यार्थी नभएका कारण बन्द छन् । यार्सा संकलन शुरु भएसँगै गाउँ समेत सुनसान भएको छ । स्थानीय काम छोडेर लेकतिर लागेका छन भने विद्यार्थी पढाइ नै छोडेर यार्सा संकलनतिर लागेका छन् । खण्डेश्वरीका उच्चमाविसहित निमावि र प्रावि विद्यालय बन्द छन् । यता, घुसा गाविसका मावि सहित केही प्राथमिक विद्यालय पनि यहि कारण बन्द भएका छन् ।
जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यालय बन्द नगर्न दिएको निर्देशन शिक्षकले पालना गर्न खोजे पनि विद्यार्थी अभावमा विद्यालय सुचारु हुन सकेका छैनन । यो अवधिमा विद्यार्थी एक महिनाको लागि विद्यालय छोडेर लेकतिर जाने गर्छन् । मनग्गे आर्थिक उपार्जन गर्न सकिने स्रोतको रुपमा यार्सागुम्बा रहेकाले अभिभावकले आफ्ना छोराछोरीलाई हरेक बर्ष लेक लैजाने गर्छन ।