काठमाडौं–जेठ १ । लामो समयसम्म तराईलाई केन्द्रीत गरेर आन्दोलन गरेका मधेशवादी दलहरू पछिल्लो समय काठमाडौ केन्द्रीत आन्दोलनमा छन् । शक्ति सञ्चयका लागि आन्दोलन स्थगित गरेको भन्दै आएका मधेशी दलहरू फेरी आन्दोलन मार्फत जुरमुराउन थालेका हुन् ।
मधेशीवादी दलहरूको गठबन्धनले पछिल्लो समय काठमाडौंमा केन्द्रीत गरेर धर्ना, सभा र विरोध कार्यक्रम गरिसकेको गठबन्धनले शनिबार विरोध र्याली निकाल्यो ।
विरोध र्यालीमा गठबन्धनमा सहभागी दलका कार्यकर्ता र नेताको उपस्थिति थियो । शनिबार विरोध र्याली निकालेको गठबन्धनले आइतबार सिंहदरवार गरेर आफ्ना माग पूरा गराउन दवाव दिदै छ । हुन त वर्तमान सरकारबाट आफ्ना माग सम्बोधन हुन नसक्ने बताउँदै आएको गठबन्धनले सरकार विरूद्ध पनि आन्दोलन केन्द्रीत रहँदै आएको बताएको छ । मधेशी दलहरूको गठबन्धनले सरकारले आफ्ना मागहरूलाई पटक–पटक वेवस्था गरेको भन्दै सरकारको वार्ता प्रस्तावलाई पनि अस्विकार गरेका छन् । आन्दोलनको लामो समय वित्तिसक्दा पनि सरकार माग पूरा गराउन भन्दा दबाउन खोजेको गठबन्धनमा सहभागी नेताहरूको भनाइ छ । गठबन्धनले वर्तमान सरकार मधेशको माग सम्बोधनमा भन्दा पनि भाषणबाजीमा मात्र लागेको र मधेशी जनताको भावना विपरित अभिव्यक्ति र क्रियाकलाप जारी राखेको भन्दै आफूहरूका माग तत्काल सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
यसअघि नेपाल–भारत सिमानामा आन्दोलन गरेको गठबन्धनले अहिले आदिवासी, जनजाति, दलितसम्बद्ध दलहरूलाईपनि साथमा लिएर काठमाडौं केन्द्रीत आन्दोलनमा छ । जनजाती, मधेशीसहितको समर्थनमा पहिचानसहितको संघीयता र तराईमा २ प्रदेशका लागि आन्दोलन केन्द्रीत हुने गठबन्धनको भनाइ छ ।