शैक्षिक प्रमाणपत्रका आधारमा ऋण–कार्यान्वयनको चिन्ता

yyyyyकाठमाडौँ– जेठ १ । विद्यार्थी नेता तथा शैक्षिक क्षेत्रका सरोकारवालाहरुले नीति तथा कार्यक्रममा समावेश विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने विषयलाई सघन छलफलमा ल्याएर निष्कर्षमुखि बनाउनुपर्ने बताएका छन् ।

एनेकपा माओवादी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले मनाएको ५२ औँ विद्यार्थी एकता दिवसमा बोल्ने अधिकांश सरोकारवालाले नीति तथा कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयनको पाटो महत्वपूर्ण हुने बताएका हुन । ‘शैक्षिक प्रमाणपत्रका आधारमा ऋण र कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा बिद्यार्थी नेता तथा सरोकारवालाहरुले ऋण दिने बारे ऐन तथा कानुनको अभाव, ऋण कसरी तिर्ने, कति अवधिमा तिर्ने भन्ने प्रष्ट व्यवस्था नभएको भन्दै आवश्यक नीतिगत व्यवस्थाको जरुरी हुने धारणा राखेका थिए । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले ठूलो प्रयासका साथ कार्यक्रम ल्याएको भन्दै लागू गर्न सबै सरोकार पक्षको सकारात्मक दबाब आवश्यक हुने बताउनुभयो । उहाँले विद्यार्थीलाई प्रदान गरिने शैक्षिक ऋणको ब्याज सरकारले नै तिर्ने जानकारी दिँदै बैंक तथा वित्तीय संस्थालाई नआत्तिई सरकारको कार्यक्रमलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. चन्द्रकान्त पौडेलले विद्यार्थीलाई आत्मनिर्भर, स्वाभिमानी र मुलुकप्रति जिम्मेवार बनाउने लक्ष्यका साथ सरकारले शैक्षिक ऋणको कार्यक्रम ल्याएकाले त्यसको सफलता अत्यावश्यक रहेको बताउनुभयो । उद्यमशीलता बढाउनेभन्दा पनि शैक्षिक क्षेत्रमा नै पहिले ऋण दिने प्रावधान अगाडि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले कार्यान्वयनको पाटो नै महत्वपूर्ण हुने बताउनुभएको थियो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य बिकेमान सिंहले प्रस्ट कार्यविधि र योजना बनाएर मात्रै सो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो सङ्गठनको मागअनुसार सरकारले कार्यक्रम ल्याएको दाबी गर्दै सफल कार्यान्वयनका लागि जस्तोसुकै दबाब दिन पछि नपर्ने उद्घोष गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया